कर्णाली, वैशाख १५ : मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको सफलतामा प्रदेश सचिवको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘सहकार्य, समन्वय र सुसंस्कृत संसदीय अभ्यासका लागि प्रदेशसभाका सचिवबीचको अन्तक्र्रिया’ कार्यक्रमलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले प्रदेशका सचिव नै सरकारको मुख्य सल्लाहकार भएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले राजनीतिक उतारचढावका बीच प्रदेशसभा र प्रदेश सरकारले संवैधानिक दायित्व निर्वाह गर्न सफल भएको दाबी गर्नुभयो । प्रदेश सरकार ‘देखिने सरकार’ भएकाले प्रदेशको सफलतामा सचिवको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । साथै उहाँले विगतमा कर्णालीमा सचिवलगायतका उच्च तहका कर्मचारी आउन नमानेकाले बजेटमै कर्मचारी प्रोत्साहनको व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणमा प्रदेश सचिवको योगदान अझ बढी रहेको धारणा राख्नुभयो । प्रदेश पहिलो संरचना भएकाले यसको जग निर्माणदेखि नै सचिवले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
“विधि प्रक्रिया भनेका समाजका ऐना हुन्, ती विधि प्रक्रिया निर्माणमा सचिवको योगदान महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “नियमित प्रशासनिक कार्यको नेतृत्वदेखि विधायिकीय काममा सचिवले धेरै मद्दत पु¥याउनुभएको छ, माथिल्लो तहका कर्मचारी आउन नचाहने कर्णाली प्रदेशमा सचिवले निभाएको भूमिका झन धेरै छ ।”
कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले प्रदेशसभाले हालसम्म गरेका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य पद्मा खड्का, राजु नेपालीलगायतले प्रदेशसभामा काम गर्दाको सिकाइको चर्चा गर्नुभयो । कर्णाली प्रदेशसभाद्वारा आयोजित उक्त कार्यक्रममा बागमती, लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णालीका प्रदेश सचिवको सहभागिता थियो ।






