काठमाडौँ, वैशाख १५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाको लागि आवश्यक भएको बताउनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएकी सिर्जना सिहंको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा आज उहाँले काठमाडौँभित्रको देखिएको व्यथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
“सिर्जना गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमतीमात्र नभएर आफैँमा राजनीतिक व्यक्ति हुनुुहुन्छ, उहाँलाई अहिले पार्टीले न्याय गरेर टिकट दिएको छ, समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनुहोस्”, महामन्त्री थापाले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठूलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भीडभाड कम गर्न फुटपातको व्यवस्थापन गर्न र फोहरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरेपनि काठमाडौँका जनताले राहत पाउने बताउनुभयो । महामन्त्री थापाले काठमाडौँको प्रमुखमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गर्नुभयो ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको भन्दै उक्त अवसरलाई सही सदुपयोग गर्न सम्पूर्णलाई आग्रह गर्नुभयो । उहाँले कांग्रेस कम कुरा गर्ने र काम धेरै गर्ने पार्टी भएको बताउँदै मुलुकमा सुशासन र समृद्धि ल्याउनका लागि कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो ।
नेता डा महतले नेपालको लोकतन्त्र स्थापनामा सिर्जना सिंहको महत्वपूर्ण भूमिका रहेको बताउँदै लोकतन्त्रको रक्षा गर्दै मुलुकको विकासका लागि पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिंहलाई उठाएको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सक्षम महिला नेत्रीलाई कांग्रेसले महानगरको उम्मेदवारको रुपमा अगाडि सारेको भन्नुभयो ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले काठमाडौँको मुहार फेर्नलाई कांग्रेस नेतृत्वले महिलालाई महानगरको उम्मेदवार बनाएको भन्दै कांग्रेस केन्द्रीय नेतृत्वलाई धन्यवाद दिनुभयो । कांग्रेस काठमाडौँका पूर्व सभापति एवमं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षा गर्दै लोकतन्त्र बचाउन गठबन्धन आवश्यक रहेको बताउनुभयो । कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्यले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबैलाई आग्रह समेत गर्नुभयो ।सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई परिवर्तन गर्नका लागि सात सङ्कल्प प्रस्तुत गर्नुभएको थियो ।






