इजरायलका प्रधानमन्त्रीद्वारा महासचिव गुटेरेससँग गाजा तनावबारे छलफल

  बैशाख ११, २०७९

तेल अवीव [इजरायल], बैशाख ११ : इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले शनिबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसससँग टेलिफोन वार्ता गर्दै गाजाबाट हालैका दिनमा भएका आक्रमणका साथै रुस-युक्रेन युद्धको पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको छ। “प्रधानमन्त्री बेनेटले इजरायलमा भएको रकेट प्रहारको विषयमा संयुक्तराष्ट्रसंघले निन्दा नगरेकोमा असन्तोष व्यक्त गर्नु भएको छ।

प्रधानमन्त्रीको आधिकारिक ट्विटर विज्ञप्तिमा भनिएको छ, बेनेट र गुटेरेससले “रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई भेट्न संयुक्त राष्ट्रसंघका महासचिवको अपेक्षित भ्रमण र रुस र युक्रेन बीचको स्थिति समाधान गर्ने प्रयासहरूबारे पनि छलफल गर्नुभयो।” जेरुसेलमको टेम्पल माउन्टमा विगत केही दिनदेखि प्यालेस्टिनी र इजरायली प्रहरीबीच झडप बढेको छ । सो झडपमा दुवै पक्षलाई चोटपटक लागेको बताइएको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले जनाएअनुसार संयुक्त राष्ट्रसंघले एन्टोनियो गुटेरेसको आगामी मस्को भ्रमण र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग हुने भेटवार्ता बारे पुष्टि गरेको छ। क्रेमलिनले पनि राष्ट्रसंघका महासचिवको भ्रमणको पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया