काठमाडौं, वैशाख ११ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोइड अस्टिनले आइतबार किएभको भ्रमण गर्न लागेको बताएका छन् ।
युक्रेन र रुसबीच द्वन्द्व सुरु भएपछि युक्रेनको भ्रमण गर्न लागेका उनीहरू सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । आफ्ना वरिष्ठ अधिकारीहरूको किएभ भ्रमणका बारेमा अमेरिकाले अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।
राष्ट्रपति जेलेन्स्कीले उनीहरू ठोस सहयोग लिएर आउने अपेक्षा राखेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले थप हतियार माग गर्न सक्ने ठानिएको छ । त्यसअघि उनले युक्रेनको युद्धका लागि हतियार एकदमै महत्तवपूर्ण रहेको बताएका थिए ।
रुसले युक्रेनमा आक्रमण थालेयता युक्रेन पुगेका वरिष्ठ अधिकारीहरूमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन, युरोपेली सङ्घका वरिष्ठ कूटनीतिज्ञ जोसेफ बोरेल, इस्टोनिया, लाट्भिया, लिथुएनिया र पोल्यान्डका नेताहरू छन् । सबैभन्दा पछिल्लो पटक यूकेका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए ।
जेलेन्स्कीले राष्ट्रसङ्घका महासचिवबारे के भने
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलन किएभको सबवे स्टेशनमा आयोजना गरिएको थिए । तीन घण्टासम्म सम्बोधन गरेका जेलेन्स्की एकचोटि रेल आएको समयमा केही बेर चुप लागेका थिए । उनले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्तिवार्ताका लागि भेटघाट गर्न तयार रहेको पनि जनाएका छन् ।
उनले किएभको भ्रमण नगरीकनै मङ्गलवार मस्कोमा रुसी राष्ट्रपतिलाई भेट्न जान लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसको पनि आलोचना गरेका छन् । स्थलगत रूपमा अवस्थाको जानकारी लिन राष्ट्रसङ्घका महासचिव पहिले युक्रेन आउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रसङ्घको विज्ञप्तिका अनुसार सोमवार टर्की पुग्ने महासचिव गुटेरसले त्यहाँबाट मङ्गलवार मस्को जाने छन् । उनले मस्कोमा राष्ट्रपति पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई भेट्ने छन् । त्यसपछि उनले बिहीवार किएभको भ्रमण गरी युक्रेनी राष्ट्रपति र विदेशमन्त्रीलाई भेट्ने छन् । टर्कीले युद्ध जारी रहेको अवस्थामा युक्रेन र रुसबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो र दुवै पक्षबीचको वार्ताको आयोजना गरेको छ ।
पत्रकार सम्मेलनमा जेलेन्स्कीले मारिऊपोल सहरको स्टील उद्योगको रक्षा गरिरहेका कुनै पनि बाँकी सैनिकहरूलाई रुसले हत्या गरे वा खेअर्सनमा जनमत सङ्ग्रहको आयोजना गरिएमा युक्रेनले मस्कोसँगको वार्ता भङ्ग हुने बताए । जेलेन्स्कीले झन्डै ५,००० बालबालिकासहित लगभग पाँच लाख व्यक्तिलाई रुसले कब्जा जमाएको युक्रेनी भूभागबाट रुसतर्फ पठाइएको बताए ।
यसैबीच अमेरिकास्थित इन्स्टिट्यूट अफ द स्टडी अफ वारले आफ्नो अद्यावधिक विवरणमा अन्तिम युक्रेनी रक्षकहरू रहेका मारिऊपोलको एजोभ्स्ताल उद्योगमा रुसी सेनाले दबाव बढाइरहेको जनाएको छ । उक्त विवरणमा रुसी सैनिककहरूले स्टील उद्योगमा तैनाथ अन्तिम युक्रेनी फौजलाई भोकै बनाउने प्रयास रुसले गर्ने र त्यहाँ फसेका नागरिकहरूलाई उद्धार गर्न नदिने भनिएको छ ।
युक्रेन युद्ध तेस्रो महिनामा प्रवेश
बीबीसीका कूटनीतिक संवाददाता जेम्स लान्डेलका अनुसार जम्मा आठ सातामा रुसले इतिहासलाई सम्झाएको छ र युक्रेनलाई बीसौँ शताब्दीको त्रासदीपूर्ण अवस्था सम्झन बाध्य पारेको छ । हजारौँ मानिसको ज्यान गएको छ, दशौँ लाख विस्थापित भएका छन् र सहरहरू भग्नावशेषमा परिणत भएका छन् ।
उनका अनुसार अतिक्रमणकारी फौजहरूलाई बाल अस्पताल र गैरसैनिक लुकिरहेका एउटा नाटकघरमाथि बम प्रहार गरेपछि युद्ध अपराधको आरोप लगाइएको छ। सहरी क्षेत्र कब्जा, सामूहिक चिहान र निष्कर्षविहीन शान्तिवार्ता दोहोरिएका छन् ।
तर पनि रुसी फौजले किएभमा कब्जा जमाउन सकेको छैन र सरकार ढाल्न विफल भएको छ । युक्रेनी फौजले बलियो प्रतिरोध गरेको छ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देशलाई एकतामा बाँधेर उत्कृष्ट नेतृत्व प्रदर्शन गरेका छन् ।
उनी भन्छन्, “तर रुसी फौजहरू पूर्वतर्फ भेला भइरहँदा के युक्रेनले तिनलाई पुनः रोक्न सक्छ? के पश्चिमा शक्तिहरूले आफ्नो सैन्य सहयोगलाई वृद्धि गरेर युद्धका साझा लक्ष्यप्रति एकताबद्ध रहन सक्छन् ? वा के समय, थकाइ वा कमजोर अस्त्र भण्डारले उनीहरूको क्षमता घट्छ? यो युद्ध दुई महिनाको भइसकेको छ तर अझै थप केही समय चल्न सक्नेछ,” बिबिसीमा उल्लेख छ ।






