दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

  बैशाख ०९, २०७९

काठमाडौँ, वैशाख ९ : बिहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको ‘क्यान इन्फोटेक’ मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त हुनुहुन्थ्यो । आफैँमा दृष्टिविहीन उहाँले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहनुभएको छ ।

जलदेवले जस्तै जलशा सापकोटाले पनि आफूसँग भएको ज्ञान दृष्टिविहीनलाई बाँडिरहनुभएको छ । भृकुटीमण्डपको ८० नं कक्षमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल (एड्राड नेपाल)ले दृष्टिविहीन तथा अक्षर पढ्न नसक्नेलाई यसरी सूचना प्रविधिको प्रयोगबारे जानकारी दिँदैआएको छ । दृष्टिविहीनलाई सूचना प्रविधिबारे जानकारी दिन तथा उनीहरुलाई अनलाइन पुस्तकालय कसरी प्राप्त गर्न सकिन्छ भनेर जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी तथा साक्षात्कार आयोजना गरिएको हो ।

उक्त प्रदर्शनी यही वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । “दृष्टिविहीनले पनि प्रविधिको प्रयोग गरी धेरै गर्न सक्छन्, उनीहरु पनि प्रविधिबारे जानकार हुनुपर्छ भन्ने ज्ञान दिन खोजेका हौँ”, जलसाले भन्नुभयो । दृष्टिविहीनले फोनबाटै विभिन्न एप्स प्रयोग गरेर बैंकको खाता सञ्चालन, अनलाइन कारोबारलगायतबारे जानकारी दिइने गरिएको छ । प्रदर्शनीमा अपाङ्गता वा दृष्टिविहीनका बारेमा निर्माण भएका ऐन÷कानुन, नीति, निर्देशिकाबारे समेत छलफल भइरहेको एड्राड नेपालका कार्यकारी प्रमुख डा वीरेन्द्रराज पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया