प्रमुख निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

  बैशाख ०८, २०७९

कलैया, वैशाख ८ : निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि बारामा प्रमुख निर्वाचन कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मी, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संयुक्तरूपमा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

निर्वाचन निष्पक्ष, तटस्थ, धाँधलीरहित हुनेमा कसैलाई शङ्का नगर्न प्रमुख निर्वाचन अधिकृत रेग्मीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय समितिका संयोजक सिंहले दलहरूबीचको सहमति, सहकार्य र मित्रवत् सम्बन्ध कायम गरेर चुनावमा अगाडि बढ्न सुझाव दिँदै निर्वाचनका दौरानमा भए÷गरेका नाकारात्मक कुरालाई प्राथमिकता नदिई सकरात्मक कुरालाई सञ्चारमाध्यममा उजागर गर्न आग्रहसमेत गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटुवालले चुनावलाई मर्यादित, निष्पक्ष, शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि भरपुर सुरक्षा व्यवस्था मिलाइ मतदान केन्द्रसम्म जाने वातावरण मिलाउन आफू कटिबद्ध रहेको बताउँदै ढुक्क भएर मतदान गर्नका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले प्रहरी प्रशासनले एक्लै मात्र चाहेर सबै थोक गर्न नसक्ने बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दल, नागरिक अगुवा, पत्रकारसहित सबैको सहयोगको उत्तिकै खाँचो रहेको स्मरण गर्नुभयो ।

निर्वाचनमा भाइचाराको सम्बन्ध गाँसी कुनै प्रकारको झैझगडा, होहल्ला, वादविवादमा नपरी शान्तिपूर्णरूपले अगाडि बढ्न प्रमुख जिल्ला अधिकारी कटुवालले सुझाव दिनुभएको थियो । उहाँले मतदातालाई कसैको दबाब, प्रभावमा नपरी आफूलाई योग्य लागेका उम्मेदवारलाई नै चुनावमा मतदान गर्न आग्रहसमेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया