काठमाडौँ, वैशाख ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन टुटाउने प्रयास भए पनि त्यो विफल हुने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आयोजित ‘आगामी निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त धारणा राख्नु भएको हो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई कमजोर बनाउने शक्तिहरूले वर्तमान गठबन्धनलाई टुटाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा ‘गिभ एन्ड टेक’को कुरा भइहाल्छ । गठबन्धनका अरू शक्तिले नेपाली काँग्रेस ठूलो पार्टी भएकाले बढी हिस्सा दिने र अरू साना पार्टीले सानै भाग खोजेका छन् । त्यसमा आपत्ति मान्नुपर्ने अवस्था छैन ।”
प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा नेपाली जनताद्वारा कम्युनिस्ट पार्टीहरूलाई झन्डै दुई तिहाइ बहुमत दिए पनि जनहितमा काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको काम पनि गर्न नसक्ने अनि संसद् विघटन गर्दै जाने र प्रतिगमनको काममा अग्रसर भएपछि म प्रधानमन्त्रीको पदमा पुगेको हुँ । लोकतन्त्र बचाउनका लागि गठबन्धन पनि बनेको हो ।”
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अझै पनि खतरा कायमै रहेको बताउनुभयो । उहाँले लोकतन्त्र बचाउनैका लागि वर्तमान गठबन्धन बनेको र लोकतन्त्रको खतरा नटरुन्जेलसम्म गठबन्धन कायम रहने तर्क प्रस्तुत गर्नुभयो । उहाँले गठबन्धनका कारण नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारीसँग हात मिलाउँदै हिँडेको आरोप लगाउनुभयो । नेता पौडेलले भन्नुभयो, “एमाले अध्यक्ष ओली अहिले कुन र कस्ता मान्छेसँग हात पसार्दै हिँडेका छन् ? त्यो हेर्दा नै थाहा हुन्छ कि अझै प्रतिगमनकारी शक्ति एकजुट हुँदैछन् । त्यसकारण हामी सचेत हुन आवश्यक छ ।”
पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएकाले लोकतन्त्र खतरामा पर्दै जाँदा तरुण, युवाको आवश्यकता हुने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसले नजिते फेरि लोकतन्त्रलाई धरापमा पार्नेहरू माथि उठ्न सक्नेप्रति चिन्ता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले लोकतन्त्रलाई बलियो बनाउन अझै युवा विद्यार्थीले जाग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “जब जब मुलुकमा लोकतन्त्र हरण हुने खतरा बढ्छ तब तब युवाको आवश्यकता पर्ने गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा युवाले खेलेको भूमिका जति प्रशंसा गर्दा पनि कमै हुने गरेको छ ।” पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले देशमा गफ चुटेर जनताको मनमा भ्रम फैलाउन विपक्षी नेता रातदिन लागेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “काम गर्ने पार्टी नेपाली काँग्रेस हो । गफ गर्ने अरू छन् । यो निर्वाचनमा काम गर्ने पार्टी र गफ गर्ने छुट्याएर भोट हाल्नुपर्ने बेला आएको छ ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी सभापति देउवाले नेपाल विद्यार्थी सङ्घका संस्थापकहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । तत्कालीन पञ्चायती शासन व्यवस्था परिवर्तन गर्न युवा विद्यार्थीलाई सक्रिय गराउन २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापना भएको गोरखापत्र अनलाइनमा खबर छ ।