मुगु, वैशाख ६ : जिल्लाको पूर्वी भेगमा पर्ने खत्याड गाउँपालिकाले पालिकाभित्रका ११ वटै वडामा पुग्ने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । पालिकाभित्र सबै वडालाई समेटेर ७३ किलोमिटर सडक निर्माण भएसँगै स्थानीयले सहज रुपमा एम्बुलेन्स सुविधा पाएका हुन् ।
खत्याड गाउँपालिका मात्र होइन, जिल्लाका अन्य स्थानीय तहले पनि गाउँका बस्तीसम्म आउजाउमा सहज हुने गरी सडक निर्माण गरेका छन् ।गाउँबस्तीमा सडक पुगेसँगै यहाँका अन्य विकास निर्माणका काममा समेत तीब्रता पाएको छ । सडक नहुँदा निर्माण सामाग्रीदेखि दैनिकी उपभोग्य बस्तुलगायत खच्चरबाट ढुवानी हुँदा सेवाग्राहीले महँगाे भाडा तिरेर ढुवानी गर्न बाध्यता रहेको थियो ।
अहिले गाउँबस्तीमा सडक पुगेपछि दैनिक उपभोग्य सामाग्रीकोउपलब्धता हुँदा सस्तो र सुलभ भएको छ । त्यस्तै, निर्माण सामाग्री समेत ढुवानी गर्न सहज भएको र विकासी निमार्णका सामाग्री ढुवानीदेखि बिरामीलाई एम्बुलेन्सबाट अस्पतालसम्म पु-याउन सहज भएको नखर्जी गाउँका स्थानीय कमल रोकाया बताउनुुहुन्छ ।
नखर्जीमा सडक सञ्जाल जोडिएसँगै विद्यालय भवन निर्माणका सामग्रीहरु सस्तो सुलभमा ढुवानी गर्न सकिएको उहाँका अनुभव छ । छायाँनाथ रारा नगरपालिकाले पनि नगरभित्र सबै वडालाई समेटेर ७३ किलोमिटर सडक निर्माण गरिएको जनाएको छ । ‘नगरका साविक गाउँ चुगा, कम्फा, बालचौंर, लह, सालिम, शोभा र मुर्मालगायतका बस्तीबाहेक अन्यत्र सडक सञ्जाल पुगेको छ’, प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताउनुभयो ।
जिल्लाको मुगमकार्मारोङ गाउँपालिकामा भने राष्ट्रिय सडक सजालसँग जोडिन सकेको छैन । जसको कारण यस पालिकाका स्थानीयले बस्तीसम्म खच्चरबाट ढुवानी गर्दा जिल्लाको सदरमुकामदेखि प्रति केजी ३० रुपैयाँसम्म ढुवानी रकम खर्चनुपरेको छ, स्थानीय पेपा तामाङले बताउनुभयो ।
पालिकाका प्रवक्ता कार्मा लामाले ढुवानी महंगो हुँदा दैनिकी उपभोग्य खाद्यान्न तेल, चिनी, चामलजस्ता उपभोग्य बस्तुहरु महङ्गो मूल्य खर्चनुपरेको बताउनुहुन्छ । स्थानीय स्तरमा सडक बनेको भए पनि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुनाले स्थानीय सडक प्रयोगविहीन भएको उहाँको भनाइ छ ।
प्रवक्ता लामाका अनुसार माथिल्लो मुगुमा १० किलोमिटर सडक निर्माण गरेको छ । उक्त सडकमा अहिले खच्चरलगायत यहाँका समुदायलाई आउजाउ गर्न सहज भएको छ ।