विपद न्यूनीकरणमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ’

  बैशाख ०५, २०७९

गण्डकी, बैशाख ५ : मुलुकमा हुने सबैखाले विपदको न्यूनीकरणका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रममा जोड दिइएको छ । गण्डकी प्रदेशस्तरीय ‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ विषयक अभिमुखीकरण तथा अन्तरक्रियाका वक्ताहरूले विपद जोखिमका दृष्टिले नेपाल संवेदनशील रहेको उल्लेख गर्दै सम्भाव्य जोखिमप्रति सचेत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्तले विपद न्यूनीकरण र व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवार बन्दै आएको बताउनुभयो । प्रदेश सरकारले सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री खरिद गरेर वितरण गर्दै आएको बताउँदै उहाँले पछिल्लो समय विपद एवं दुर्घटनामा हेलिकप्टर उद्धारलाई समेत जोड दिएको स्पष्ट पार्नुभयो । कुनै पनि घटनामा मानवीय र अन्य क्षति कम गर्नका लागि पहिलो पहल हुनुपर्ने भन्दै उहाँले विपदमा राहत वितरण एकद्धार प्रणालीबाट गरिने विश्वास दिलाउनुभयो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव बद्री अधिकारीले विकास निर्माणका कारण कतिपय विपद निम्त्याउने गरेको बताउँदै त्यस्ता विपद हुन नदिन विकास योजना तर्जुमा गर्दा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका संयोजक जयनारायण अर्यालले विपद न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जनताको नजिकको सरकार स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी पहिरो, आगलागी, चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै विपदका अवस्थामा तीनै तहका सरकार संवेदनशील भएर उद्धार र राहत वितरणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा विपद न्यूनीकरण, मुलुकमा विपदको अवस्था र यसबाट बचाउन सकिने उपाय, उद्धार, राहत वितरणलगायत आवश्यकतानुसार आवासको व्यवस्था, पूर्व सूचना प्रणालीका बारेमा छुट्टाछुट्टै पाँच वटा अवधारणा पत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा तीन वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मीलगायत सरोकारवालाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया