काठमाडौं, वैशाख ३ : नेपालले नियमित यात्रुवाहक उडान खोल्न बारम्बार अनुरोध गरे पनि चीनले इच्छा नदेखाउँदा दुई देशबीचको यात्रा महँगो बनेको अधिकारीहरूले बताएका छन् ।
नेपालबाट चीन प्रत्यक्ष उडान नहुँदा यात्रा लामो र महँगो बन्नुका साथै नेपाललाई आर्थिक र पर्यटकीय हिसाबमा पनि असर परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछानेले बताए ।
काठमाण्डूस्थित चिनियाँ दूतावासमार्फत पटकपटकको पत्राचार र आग्रहपछि पनि व्यावसायिक यात्रुवाहक उडानबारे चीनले सकारात्मक प्रतिक्रिया नजनाएको उनको दाबी छ ।
“भौतिक रूपमा छलफल हुन सकेको छैन। हामीले पत्राचार गरिरहेका छौँ। यस प्रक्रियामा दूतावासले समन्वय गरेको छ तर उताबाट हालसम्म सकारात्मक जवाफ आएको छैन,” लामिछानेले भने ।
चिनियाँ दूतावासका प्रवक्ता चाङ् सूले भने नेपालले कोरोनाभाइरसको दोस्रो लहरको बेला एकतर्फी रूपमा नियमित उडान ठप्प पारेको दाबी गर्दै उडानका विषयमा छलफल भइरहेको बताए ।
दुई वर्षअघि कोरोनाभाइरस महामारीको दोस्रो लहर सुरु हुँदा चीनले सङ्क्रमणको जोखिम कम गर्नका लागि भन्दै व्यावसायिक यात्रुवाहक उडानमा प्रतिबन्ध लगाएको थियो । सङ्क्रमण दर कम भएसँगै नेपालमा लगाइएका प्रतिबन्धहरू हटाइएका छन् ।
“हामीले नेपाल खुला भइसक्यो, अब तिमीहरूले पनि नियमित यात्रुवाहक उडान खुला गर। त्यहाँको एयरलाइन्सहरूलाई प्रोत्साहन गर भनेका छौँ। हामी उतैको सूचनाको प्रतीक्षामा छौँ,” लामिछानेले प्रस्ट्याए ।
गत मार्चको अन्त्यमा नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सीलर वाङ यीसँग पनि नियमित उडान खुला गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट जारी विज्ञप्तिमा दुई देशबीचको पर्यटन प्रवर्द्धन र जनताबीचको सम्पर्कलाई बढाउने उद्देश्यले कोभिड-१९ को महामारीका कारण अवरुद्ध यात्रुवाहक हवाई सेवा चाँडै नै सुचारु गर्न दुवै परराष्ट्रमन्त्री सहमत भएको जनाइएको थियो ।
तर उडान खुल्नेबारे कुनै सङ्केत नदेखिएको र यसले विभिन्न व्यापार व्यवसायमा प्रत्यक्ष असर पारेको जानकारहरू बताउँछन् ।
व्यावसायिक यात्रा प्रभावित

चीनले महामारीलाई लिएर देखाएको संवेदनशीलता सही भए पनि त्यसले नेपाली व्यापार क्षेत्रमा नकारात्मक असर पुर्याएको नेपाल हिमालय सिम पार व्यापार सङ्घका अध्यक्ष विष्णु क्षेत्री बताउँछन् ।
“प्रत्यक्ष उडान नै ठप्प भएपछि आवतजावत नै रोकिएको छ। धेरै व्यवसायीहरू जान पाएका छैनन्। गइरहेकाहरूको यात्रा असहज बनेको छ,” उनले भने । यस असहज परिस्थितिले चीन-नेपाल व्यापारिक सम्बन्धमा प्रभाव पारेको उनको धारणा छ ।
माग गरिएको सामान सीमा नाकाहरूमार्फत आइरहेको भए पनि आवश्यक वार्ता हुन नपाउँदा आर्थिक पक्षमा असर पुगेको उनको धारणा छ । “यात्रा सहज हुँदाको तुलनामा आर्थिक नोक्सानी त छ नै। तर लामो समयसम्म नियमित उडान नहुँदा दुई देशबीचकै सम्बन्ध पो असर परेजस्तो देखिन्छ ।”
सङ्क्रमणकै कारण देखाउँदै नेपालबाट चीनमा हुने निर्यातमा रोक लगाइएको छ । चीनबाट नेपालमा खाद्यलगायत सामग्री आयात भइरहेकै छन्। तर सडक मार्गबाट सामान ढिला आइपुग्ने वा कहिलेकाहीँ महिनौँ लाग्ने भएका कारण केही सामग्री कार्गो गरेर ल्याउनु पर्ने अवस्था छ।
नियमित उडान नहुँदा कार्गोको शुल्क समेत बढेकाले कारोबार गर्न गाह्रो भएको व्यवसायीहरू बताउँछन् । आयातसम्बन्धी कार्यमा संलग्न व्यवसायी आशिष शर्माका अनुसार महामारीपछि कार्गोमा प्रतिकिलो २२० देखि २५० रुपैयाँ मूल्य वृद्धि भएको छ ।
“अत्यावश्यक र बजारमा माग बढी भएको सामग्री जति महँगो भए पनि कार्गो गरेर ल्याउनु पर्छ। त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्छ। कार्गो शुल्क महँगो भएपछि बजार मूल्य पनि ह्वात्तै बढ्छ,” शर्माले भने । यात्रामा प्रतिबन्धका कारण चिनियाँ विज्ञ कामदारहरूसमेत नेपाल आउन कठिन भएको लामिछानेले जानकारी दिए ।
पर्यटनमा उस्तै प्रभाव
लामिछानेका अनुसार नियमित उडान नहुँदा चिनियाँ पर्यटकहरू आगमन शून्य प्राय भएको छ । चिनियाँ पर्यटकको आगमन उत्साहजनक नभएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा बताउँछन् ।
“महामारीका कारण निकै प्रभावित पर्यटन क्षेत्रलाई पुनः माथि उकास्न छिमेकी देशहरूबाटै पर्यटक आउनु पर्ने हो। अहिले नेपालमा भारत र बङ्गलादेशबाट राम्रो सङ्ख्यामा पर्यटक आइरहेका छन्,” उनले जानकारी दिए ।
“तर चीनले उडान खुला नगर्दा चिनियाँ पर्यटकलाई परिस्थिति सहज छैन। जसका कारण हामी पर्यटन व्यवसायीहरू मारमा परेका छौँ ।” आफूहरूले नेपाली अधिकारीहरू साथै चिनियाँ दूतावास समक्ष उडान खोल्न आग्रहसहित पत्राचार गरेको थापाले बताए ।
महामारीअघि चीन-नेपाल दैनिक कम्तीमा चार वटा उडान हुने गरेको उनी सुनाउँछन् । थापा भन्छन्,”अवस्था पहिलेकै लयमा फर्काउन पहल गरिरहेका छौँ ।”
नेपाली विद्यार्थी मर्कामा
कोभिड-१९ को महामारीपछि नेपाल आएका विद्यार्थीहरू हालसम्म चीन फर्कन पाएका छैनन्। सन् २०२० को फेब्रुअरीबाट चीनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि प्रवेशमा रोक लगाएको हो ।
चीनका विभिन्न विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरूले अनलाइनमार्फत अध्ययन अघि बढाएका छन्। अनलाइनबाट हुने कक्षामा थुप्रै अप्ठ्याराहरू भोग्नु पर्ने विद्यार्थीहरू बताउँछन् ।
सिन्धुलीकी निशा कुँवर चीनको सेनजेन विश्वविद्यालयबाट राजनीतिक सञ्चार विषयमा विद्यावारिधि गरिरहेकी छन्। हाल दोस्रो सेमेस्टरमा रहेकी उनले सन् २०२१ को मध्यबाट अध्ययन सुरु गरेकी हुन् । क्लासइन नामक एपमार्फत कक्षा सञ्चालन हुने उनले सुनाइन् ।
“पढाइदेखि परीक्षासम्म भौतिक उपस्थितिमा गरेको पृष्ठभूमि छ। काम पनि नेपालमै गर्ने उद्देश्य छ। तर मेरो अनलाइन पढाइलाई भोलि यहाँ कसैले महत्त्व दिने हो या होइन भन्ने डर छ,” उनले सुनाइन् ।
चिनियाँ पक्षकाे भनाइ
नेपाल र चीनबीच प्रत्यक्ष उडान नहुँदा नेपालीहरू मात्र नभई चिनियाँ स्वयं पनि समस्यामा परेका छन् । उनीहरूले नेपालबाट अन्य देशमा ट्रान्जिट हुँदै चीन फर्कनु महँगो र झन्झटिलो भएको बताउँदै आएको नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सूले बीबीसीसँग बताएका छन् ।
“चिनियाँहरू अन्य देश हुँदै जान सक्छन्। हाल उनीहरू प्राय खाडी मुलुकमा ट्रान्जिट लिएर गइरहेका छन्। तर उनीहरूले हवाई उडान खर्च महँगो हुने भएकाले प्रत्यक्ष उडानको माग गरिरहेका छन्,” प्रवक्ताले भने ।
केही भने चार्टर फ्लाइटमार्फत् फर्किएको जानकारी दिइएको छ । चाङले नेपालले कोरोनाभाइरसको दोस्रो लहरको बेला एकतर्फी रूपमा नियमित उडान ठप्प पारेको दाबी गरेका छन् ।
यद्यपि परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ स्टेट काउन्सीलर वाङ यीबीच भएको वार्ताले यो समस्या सम्बोधन गर्न सक्ने उनले बताए । नियमित उडान पुनः सुरु गर्ने सम्बन्धी नेपाली र चिनियाँ पक्ष थप छलफल भइरहेको पनि चाङलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।