लेखक सङ्घका अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु

  बैशाख ०३, २०७९

काठमाडौँ, वैशाख ३ : नेपाली लेखक सङ्घको आज बसेको केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय उपाध्यक्षमा चर्चित कवि कृसु क्षेत्रीलाई मनोनयन गरेको छ ।

विसं २००७ मा बिपी कोइराला, रिद्दिबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले लगायतको सक्रियतामा स्थापित लोकतान्त्रिक साहित्यकारहरूको संस्था नेपाली लेखक सङ्घको सातौँ अधिवेशन गत चैत १८ र १९ मा श्रवण मुकारुंगको अध्यक्षतामा पोखरामा सम्पन्न भएको थियो । सोही अधिवेशनले वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय समिति चयन गरेको थियो ।

झापामा जन्मेका कवि क्षेत्री कविताका अतिरिक्त गीत, गजल, मुक्तक र सम्पादन गर्दछन् भने विलयन लेखनको प्रवर्तक पनि हुन् । कवि क्षेत्रीको चराको गीत अत्यन्त लोकप्रिय कविता सङ्ग्रह हो । कूटनैतिक जिम्मेवारी र साहित्यिक गतिविधिको सिलसिलामा लगभग तीन दर्जन मुलुक भ्रमण गरेका उहाँको यो मनोनयनले सङ्घलाई प्रवासमा विस्तार गर्ने अपेक्षा पूरा हुनेछ भन्ने विश्वास लिइएको छ ।

सोही बैठकले सचिवमा शशी थापा पण्डित, सदस्यमा विमला तुम्खेबा, मनोज न्यौपाने, गीता रेग्मी, हेम प्रभाष र इन्द्रकुमार विकल्पलाई मनोनयन गरेको थियो ।

तपाईको प्रतिक्रिया