काठमाडौँ, चैत ३० : ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त महासङ्घ’ भन्ने मूल नाराका साथ सुडी समाज महासङ्घ नेपालको सम्पन्न ‘प्रथम राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनले परमेश्वर महासेठको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा इन्जिनियर उमाशङ्कर साह, उपाध्यक्षमा नरेश महासेठ र शान्ति महतो तथा महासचिवमा शीतलप्रसाद महतोलाई चयन गरिएको छ । सचिवमा इन्जिनियर रामस्वरुप महासेठ र कोषाध्यक्षमा विनोद साह रहनुभएको छ ।
सो अवसरमा मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति डा बैजनाथ महतोले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै अनुशासित र मर्यादित समाजको निर्माणका लागि आफ्ना बालबालिकालाई उचित शिक्षा दिनुपर्ने बताउनुभयो । सुडी समाज काठमाडौँका अध्यक्ष डा अशोक महासेठ र पूर्वअध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाजका सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रामनाथ साह, समाजका अगुवा किशोरी महतो, परमेश्वर महासेठ, इन्जिनियर ओमप्रकाश महतो, निभा साह र सुडी समाज काठमाडौँका महासचिव शीतलप्रसाद महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सुडी समाज काठमाडौँको अध्यक्ष डा महासेठको सभापतित्वमा सम्पन्न सम्मेलनमा काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका करिब १५० सुडी समुदायका अगुवा सहभागी थिए ।