बिस्का जात्राभित्रका जात्रा

  चैत २९, २०७८

भादगाऊँ, चैत २९ : नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँ छन् । सुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो तर विभिन्न कालखण्डमा यो जात्राले नौ दिन आठ रातको रुप लिन पुगेको इतिहासकार एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

कुनै समय बिस्का जात्रामा भैरवनाथको मात्र रथ तान्ने परम्परा भएको उहाँको भनाइ छ । उहाँका अनुसार एक समय यहाँ ठूलो अनिकाल परेको थियो । त्यसबेलाको भद्रकालीको जात्रामा सहभागी सबैभन्दा अग्लो एक व्यक्ति भद्रकालीको रथको अघिपछि हिँड्दै गरेको देखेर एक सिद्ध आचाजुले ध्यानदृष्टिले हेर्दा उनी काशी विश्वनाथ भएको थाहा पाए ।

विश्वनाथले जात्रा हेर्न आएको चाल पाएपछि ती सिद्ध प्राप्त आचाजुले विश्वनाथलाई रोक्ने प्रयास गरे । त्यो थाहा पाएर विश्वनाथले काशी भाग्ने प्रयास गरे । भाग्ने क्रममा विश्वनाथ जमिनमुनि अलप हुन खोजे र त्यहीबेला आचाजुले हँसियाले टाउको छिनालिइदिए । सोही टाउकोलाई यहाँ स्थापित गरे । विश्वनाथको टाउकोलाई यता स्थापित गरेपछि देशमा सहकाल आयो ।

एकगेडा चामल पनि एक परिवारलाई बढी हुन्थ्यो । चामल नै काटी काटी खाँदा बढी हुनेसम्मको सहकाल आयो । त्यसबेलादेखि भद्रकालीको रथसँगै भैरवनाथको पनि रथ जात्रा शुरु भएको श्रेष्ठले बताउनुभयो । आचाजुले तान्त्रिक बलले हँसियाले विश्वनाथको टाउको काटेकाले नेवार समुदायमा अहिले पनि हँसियाले मासु काट्न हुँदैन भन्ने मान्यता छ । वास्तवमा बिस्का जात्राको मुख्य आकर्षण नै भैरवनाथको रथ तानातान गर्ने र यसीँ ठड्याउने नै हो ।

तर बिस्का जात्राको नौ दिन आठ रातमा भक्तपुरमा विभिन्न देवीदेवताका खट जात्रा पनि हुन्छ जसको छुट्टै र विशेषखालको धार्मिक तथा सांस्कृतिक महत्व रहेको संस्कृतिविद्हरु बताउँछन् ।भक्तपुरको विभिन्न टोलटोलमा मनाउने विभिन्न देवीदेवताको जात्रालाई भैरव र भद्रकालीको सम्मानमा मनाउने गरिएको जात्राका रुपमा लिनुपर्ने इतिहासकार एवं संस्कृतिविद् प्राडा श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बिस्का जात्राको संस्कृतिलाई उचाइमा पुर्‍ययाउन र मानिसले मात्र नभई देवीदेवताले समेत भैरव र भद्रकालीले सम्मान व्यक्त गरेको अर्थमा भक्तपुरका टोल टोलमा रहेका देवीदेवताको जात्रा गर्ने प्रचलन शुरु भएको हो ।

तपाईको प्रतिक्रिया