गठबन्धनबीच आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय

  चैत २७, २०७८

काठमाडौं, चैत २७ : पाँच दलीय गठबन्धनको तयारी र अनुगमन समितिको आइतबारको बैठकले गठबन्धनबीच तालमेल गरी आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय गरेको छ । समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा गठित समितिको बैठकले तीन बुँदे निर्णय गर्दै आइतबार साँझ सो जानकारी दिएको हो ।

समितिका सचिव अधिवक्ता केशवराज जोशीकाअनुसार निर्णयलाई शीर्ष नेतृत्वसमक्ष प्रस्तुत गरिने छ । बैठकका मुख्य तीन निर्णयमध्ये पहिलो नम्बरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनबीचमा मात्रै तालमेल गरी आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय गरिएको छ ।

यसैगरी, प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति केन्द्रमा पठाउने निर्णय गरिएको जानकारी सचिव जोशीले दिनुभयो । गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तहको निर्वाचन एवम् समसामयिक विषयमा छलफल गरी संयुक्त अपील जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । शीर्ष नेताहरूको बैठक सोमबार पुनः बस्न सक्ने सम्भावना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया