काठमाडौं, चैत २६ : ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । महोत्सव पाँच दिनसम्म चल्नेछ । महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो ।
महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा इतिहास, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले वास्तविक अभिव्यक्ति त्यहाँ मात्र पाइने उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति पुनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताउनुभयो । ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘लोकदोहोरी आज गाउँबाट सहर पसेको छ । सहरमात्र होइन । विश्वका विभिन्न मुलुकमा पुगेको छ ।’
दोहोरी गीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उहाँको भनाइ छ । विभिन्न जात–जातिका संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भएर महोत्सव टुँडिखेलमा सुरु भएको हो ।