बेनी, चैत २७ : आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन् ।
राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । राजनीतिक दलले वडासमितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुङ्गो नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन् ।
नेपाली कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले १४ र नेकपा (एमाले)ले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन् ।
वडामा उम्मेदवार छनोटको क्रम बढेको छ । उम्मेदरवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुख–उपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुनः उम्मेदवार बन्ने होडबाजी चलेको छ । छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन् ।
माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुईजनालाई पुनःनिरन्तरता दिन टुङ्गो लगाएको छ । हाल वडाध्यक्ष रहनुभएका बेनी नगरपालिका–३ मा पद्मा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुन : अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । लोकप्रिय काम गरेकालाई पुन :A उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । रघुगङ्गा–२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्यासी हुनुहुन्छ ।
एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुङ्गो लगाउन थालेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुननसके बढीमा तीन आकांक्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुनःउम्मेद्वार बन्न इच्छुक छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुनः उम्मेदवार सर्वसम्मत हुनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुनः गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिनुभएको छ ।