चैतेदशैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

  चैत २६, २०७८

काठमाडौँ, चैत २६ : चैतेदशैँका दिन पनि वाग्मती सफाइ महाअभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ४६५औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, सिभिल क्यापिटल मार्केट्स लिमिटेड, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, एवं वाग्मती सफाइ महाअभियानका अभियानकर्मीलगायतको सक्रिय सहभागिता थियो ।

सफाइपछि अधिकारसप्पन्न वाग्मती समितिको २८औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गर्नुभएको जनाइएको छ । अधिकारसम्पन्न वाग्मती समितिको स्थापना विसं २०५१ चैत २८ गते भएको हो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

यसैगरी पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहर नउठ्दा पनि स्थानीय सरकार मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन् ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । वाग्मती सफाइ अभियानकर्मी कञ्चन रावत स्थानीय सरकारको प्राथमिकतामा वातावरण र फोहर व्यवस्थापन नपर्ने गरेको अनुभव सुनाउनुहुन्छ । फोहरलाई घरमै कुहिने र नकुहिने वर्गमा छुट्याएर मोहरमा परिणत गर्न सकिने भए पनि त्यसतर्फ कुनै पनि तहका सरकारले ध्यान नदिएको उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया