संस्कृति संरक्षणका लागि आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण

  चैत २६, २०७८

स्याङ्जा, चैत २६ :  पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभकार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृतिको संरक्षणका लागि शुक्रबार एक कार्यक्रमका बीच पञ्चेबाजा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष पौडेलले भन्नुभयो, “परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिन्छ त्यसैले संस्कृतिको संरक्षणका लागि पञ्चेबाजा वितरण गरेका हौँ। संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।”

विभिन्न शुभकार्यमा बजाइने पञ्चेबाजालाई लोप हुन नदिन चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट रु आठ लाख लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो ।

गाउँपालिकाबाट बाजा पाएपछि अरिङ्गाले बाजा समूह आँधीखोला–५ का अध्यक्ष ठाकुर परियारले खुसी हुँदै भन्नुभयो, “धेरै वर्ष पहिले किनेका पुराना बाजालाई मर्मत गरेर चलाउने गरेका थियौँ, नयाँ बाजा महँगो पर्ने भएकाले किन्न सक्ने अवस्था थिएन, गाउँपालिकाले समूहलाई बाजा वितरण गरेकोमा आज धेरै खुसी लागेको छ ।”

गाउँपालिकाले बाजा बजाएर परिवार पाल्नुका साथै परम्परा र संस्कृतिको समेत संरक्षण गर्दै आएका विभिन्न बाजा समूहलाई पञ्चेबाजा वितरण गरेसँगै उनीहरुमा खुसीयाली छाएको छ । पञ्चेबाजा बजाउँदै आएका दलित समुदायलाई पञ्चेबाजाको नरसिंह, सनही, दमाहा, ढोलकी, ट्याम्को र एउटा झ्याली वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो ।

पालिकाका छ वटै वडाका आठ ओटा बाजा सिरुवारी बाजा समूह, माझकटेरी, उखुबारी, मडुवा नौमती बाजा समूह , पाख्रीबोट, पञ्चासे, सेपत र अरिङ्गाले बाजा समूह आँधीखोलाई पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया