सुदूरपश्चिम सरकारमा काँग्रेस सहभागी : समाजवादीका मन्त्री हेरफेर

  चैत २५, २०७८

धनगढी, चैत २५ : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी भएको छ। सरकारमा काँग्रेस र एकीकृत नेकपा (समाजवादी) का तीन/तीन जना गरेर ६ जना नयाँ अनुहार थपिएका छन्। नेपाली काँग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहरा सामाजिक विकासमन्त्री र समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको छ।

तीनै जना नयाँ मन्त्रीलाई शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। आन्तरिक मामिलामन्त्री रावल काँग्रेसका केन्द्रीय सदस्य र कैलाली क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित हनुहुन्छ। मन्त्री बोहरा काँग्रेसका समानुपातिक र आर्थिक मामिलामन्त्री रावल कञ्चनपुर क्षेत्र ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ। रावल यसअघि प्रदेशकै पर्यटन राज्यमन्त्रीसमेत भइसक्नु भएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका टेकबहादुर रैका, समाजवादीका अमर साउद र कुलवीर चौधरीलाई राज्यमन्त्रीको शपथग्रहण गराउनुभयो। रैकालाई सामाजिक, साउदलाई र्आिर्थक मामिला र चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। रैका काँगे्रका समानुपातिका प्रदेशसभा सदस्य हुनुहुन्छ। साउद कैलाली क्षेत्र नम्बर ३ (क) बाट र चौधरी कञ्चनपुर ३ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ। तीन मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै पद बहाली गर्नुभएको छ।

सरकारका रहेका समाजवादीका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशी, सामाजिक विकासमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहरा र भौतिक पूर्वाधारमन्त्री चुनकुमारी चौधरीलाई पदबाट राजीनामा दिन लगाएर मन्त्रिमण्डल हेरफेर गरिएको हो।

तत्कालीन अवस्थामा समाजवादीका सरकारमा सहभागी सात जना मन्त्री र राज्यमन्त्रीमध्ये छ जनालाई राजीनामा गराइएको छ। सातमध्ये एक जना दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी मात्र सोही मन्त्रालयमा कायम रहनु भएको छ।

प्रदेश सरकारमा सात मन्त्री र चार राज्यमन्त्री गरेर ११ सदस्यीय रहेको छ। मुख्यमन्त्री भट्टले शुक्रबार छैटौ पटक मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो।

तपाईको प्रतिक्रिया