नेपाल–बङ्गलादेश कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवमा दुवै देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान

  चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाल र बङ्गलादेश देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको विशेष अवसरमा नेपाल र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको छ ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, बङ्गलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा राष्ट्रपतिले पाँच दशकअघि बङ्गलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल रहेको स्मरण गर्दै व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षाका क्षेत्रमा बढ्दै गएको सहयोगले नेपाल–बङ्गलादेश सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीको अवसरमा गत वर्ष भएको आफ्नो बङ्गलादेशको राजकीय भ्रमणको स्मरण गर्दै नेपाल–बङ्गलादेश द्विपक्षीय सहयोग भविष्यमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएर उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै नेपाल र बङ्गलादेशले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष मनाउँदै आएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सन्देशमा नेपाल र बङ्गलादेशले व्यापार, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारलगायत क्षेत्रमा सहकार्य र साझेदारीलाई अगाडि बढाउँदै पारस्परिक हितका प्रशस्त नयाँ सम्भावनाहरू उपलब्ध गराएको बताउनुभएको छ । नेपाल र बङ्गलादेशले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) र बङ्गलादेश¬–भूटान–भारत–नेपाल (बीबीआइएन) जस्ता क्षेत्रीय मञ्चहरूमा तथा संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठन (डब्लुटीओ) जस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन, दिगो विकास, जनस्वास्थ्य, बहुपक्षीय व्यापारलगायत आपसी हितका विषयमा घनिभूत सहकार्यका साथ काम गरिरहेको सन्देशमा प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाउनुभएको आफ्नो बधाई सन्देशमा दुई देशबीच बढ्दै गएको व्यापार र आर्थिक सम्बन्धप्रति सन्तोष व्यक्त गर्नुभएको छ । बङ्गलादेशका राष्ट्रपतिले दुई देशबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको वास्तविकताको प्रशंसा गर्दै सन् २०१९ मा भएको आफ्नो नेपाल भ्रमणको स्मरण गर्नुभएको छ । उहाँले नेपाल र बङ्गलादेशले साझा दृष्टिकोणका साथ दुवै देश र जनताको समृद्धि एवं विकासका निम्ति मिलेर काम गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवालाई पठाउनुभएको बधाई सन्देशमा नेपालले बङ्गलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा प्रारम्भिक मान्यता दिएको र त्यसपछि सन् १९७२ अप्रिल ८ मा कूटनीतिक सम्बन्ध स्थापना गर्नु दुवै देशबीचको घनिष्ट मित्रताको प्रतिविम्ब भएको उल्लेख गर्नुभएको छ ।

बङ्गलादेशका प्रधानमन्त्रीले दुई देशबीचको पारस्परिक सहयोग र सहकार्यबाट विगत वर्षहरूमा विकसित भएका साझा सामाजिक–सांस्कृतिक सम्बन्ध र धेरै समानताबारे प्रकाश पार्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउन व्यापार, लगानी, ऊर्जा सहयोग र पर्यटन सम्पर्क सञ्जाल निर्माणमा नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया