प्रजातन्त्रको आधारस्तम्भ जनता हुन्’

  चैत २५, २०७८

दमौली, चैत २५ : प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्रको आधारस्तम्भ जनताको भएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज तनहुँको आज आयोजित पाँचौ जिल्ला अधिवेशनमा उहाँले प्रजातन्त्र आए पनि सामाजिक विभेद निर्मूल गर्न नसकिएको धारणा राख्नुभयो । प्रजातान्त्रिक रूपबाट मुलुक नचल्दा विभिन्न समस्या आउने बताउँदै वाग्ले प्रजातन्त्रको आधारस्तम्भ नेपाली जनता भएको उल्लेख गर्नुभयो ।

प्रजातन्त्रमा स्वतन्त्र, निष्पक्ष, निर्भीक आवधिक निर्वाचन आवश्यक रहेको उहाँको भनाइ थियो । आवधिक निर्वाचनसँगै अभिव्यक्ति स्वतन्त्रता पनि प्रजातन्त्रमा महत्वपूर्ण रहेको वाग्लेले बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाज तनहुँका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, समाजका केन्द्रीय सचिव बासुदेव भण्डारी, त्रिभुवन क्याम्पस प्रमुख रवीन्द्रराज जोशी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, समाजका सचिव प्रदीप घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिविस महासङ्घका पूर्वमहासचिव डा शेषरमण न्यौपानेले लोकतन्त्रका आधार स्तम्भबारे प्रस्तुतीकरण राख्नुभएको थियो । यसैबीच कार्यक्रमको अवसरमा आयोजित लोकतन्त्रका आधार स्तम्भ विषयक वक्तृत्वकला प्रतियोगितामा जनज्योति क्याम्पस भिमादका विवश पराजुली प्रथम हुनुभएको छ । बेलचौतारास्थित भानुभक्त क्याम्पसका हरि खरेल द्वितीय, आदिकवि भानुभक्त क्यामपसका अलिशावंशी ठकुरी तृतीय र महर्षि वेदव्यास संस्कृत मावि दमौलीका प्रवेशचन्द्र घिमिरे सान्त्वना हुनुभएको छ ।

यसैबीच अधिवेशनले पुनः ब्रम्हदत्त तिमिल्सिनाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट समाजको उपाध्यक्षमा गौकुमारी न्यौपाने, सचिवमा ओमकार आचार्य, सहसचिवमा महेन्द्रराज शर्मा, कोषाध्यक्षमा जनक काफ्ले चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया