स्थानीय तह निर्वाचन आचारसंहिता आजबाट लागू (दस्तावेजसहित)

  चैत २५, २०७८

काठमाडौं, चैत २५ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमाफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता आजबाट लागू भएको हो ।

अब आचारसंहिता लागूभएसँगै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक भएको छ । यसैगरी, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदानका साथै निर्वाचनको कामबाहेक कर्मचारी सरुवा र पदस्थापनमासमेत गर्न नपाइने आयोगले जनाएको छ । आचारसंहिता अनुसार आयोगको अनुमतिबिना सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमण जना नपाउने भएका छन् । त्यस्तै, उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको तीन–तीन फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान रहेको छ ।

स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया