‘अर्थतन्त्र भयावह स्थितिमा छैन’

  चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले मुलुकको आर्थिक स्थिति भयावह अवस्थामा नरहेको बताउनुभएको छ । नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको आर्थिक सङ्कटसँग तुलना गर्न नसकिने धारणा व्यक्त गर्दै उहाँले श्रीलङ्काको आन्तरिक र बाह्य ऋण कुल गार्हस्थ्य उत्पादनको ११७ प्रतिशत रहेको तर हाम्रो यो अवस्था रहने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका उज्यालो पक्ष पनि छन् । अहिले देखिएका दबाबलाई पनि सम्बोधन गर्न सकिन्छ ।”

अहिले मूल्यमा दबाब परेको बताउँदै डा. भट्टले आपूर्ति प्रभावित भएको र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले अन्य मुलुकमा पनि यस्तै दबाब रहेको बताउनुभयो । “मूल्यमा परेको चापका कारण विदेशी विनिमय सञ्चिति पनि प्रभावित भएको छ । श्रीलङ्का र पाकिस्तानजस्ता मुलुक विदेशी विनिमय सञ्चितिको दबाबमा छन् । हामी पनि दबाबमा छौँ तर हाम्रो अवस्था भयावह भने होइन ।”

औद्योगिक कञ्चा पदार्थ आपूर्तिमा समस्या थपिएको र गत आर्थिक वर्षको तुलनामा विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय गिरावट आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति थियो । अहिले हामीसँग साढे छ महिना धान्न सक्ने अवस्थामा छ । ”

उहाँले विदेशी विनिमय सञ्चितिलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै राष्ट्र बैङ्कले पेट्रोलियम पदार्थको किफायती प्रयोग तथा सुन÷चाँदीको आयातमा रोक लगाउन सुझाव दिएको जानकारी दिनुभयो ।प्रवक्ता भट्टले कोरोना महामारीपछि आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएको र यसले वस्तु, सेवा र कर्जाको माग बढ्नु सकारात्मक भएको धारणा व्यक्त गर्नुभयो । पर्यटन क्षेत्र सलबलाउन थालेको र प्रत्यक्ष विदेशी लगानी राम्रो आएको उहाँले बताउनुभयो ।

“यो आर्थिक वर्षको आठ महिनामा प्रत्यक्ष विदेशी लगानी साढे १६ अर्ब रुपियाँ आएको छ । गत आर्थिक वर्षको पूरै अवधिमा १९ अर्ब मात्रै आएको थियो । यो राम्रो कुरा हो,” प्रवक्ता भट्टले स्पष्ट पार्नुभयो ।बैङ्किङ क्षेत्रमा तरलता अभावको अवस्था रहेको भन्दै उहाँले राष्ट्र बैङ्कले करिब ५४ खर्ब रुपियाँको स्थायी तरलता सुविधा पटकपटक दिएको र अहिले पनि दुई खर्बभन्दा बढी बजारमा लगानी रहेको उहाँले बताउनुभयो । अहिले दैनिक तीन खर्ब रुपियाँजति प्रवाह गरिरहेको जानकारी दिँदै उहाँले यसले गर्दा तरलतामा रहेको दबाबमा बिस्तारै सुधार आउनसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया