पर्यटनमा लगानी गर्न मन्त्री आलेको आग्रह

  चैत २५, २०७८

धनगढी, चैत २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पर्यटनमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। शुक्रबारदेखि धनगढीमा सुरु भएको फारवेष्ट ट्राभल मार्ट–२०२२ को उद्घाटन गर्नुहुँदै उहाँले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न आग्रह गर्नुभएको हो। ‘सुदूरपश्चिमको पूर्ण रुपमा प्रचार–प्रसार गर्न म तपाईंहरुलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो।

सुदूरपश्चिम कला, संस्कृतिमा धनी रहेको उल्लेख गर्नुहुँदै मन्त्री आलेले भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने बताउनुभयो। शिवरात्रिका बेला पशुपति नाथ मन्दिरमा धेरै भारतीय दर्शनार्थी आउने गरेको चर्चा गर्नुहँुँदै मन्त्री आलेले सुदूरपश्चिमको बाटो प्रयोग गरेमा दिल्लीबाट मानसरोवर पनि नजिक रहेको बताउनुभयो।

मन्त्री आलेले सुदूरपश्चिमको पर्यटनलाई अगाडि बढाउनका लागि धनगढी विमानस्थल क्षेत्रीय स्तरको विमानस्थलमा स्तरोन्नति भइरहेको बताउनुभयो। ‘त्यसका लागि मैले यो आर्थिक वर्षमा एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको सबैलाई थाहै छ’, उहाँले भन्नुभयो, ‘आगामी वर्ष १० अर्ब रुपियाँसम्म बजेटको व्यवस्था गर्छु।’

सुदूरपश्चिमको अन्य जिल्लाका विमानस्थल सञ्चालनका लागि पनि पहल भइरहेको र बजेट पनि विनियोजन भएको मन्त्री आलेको भनाइ थियो।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि पहिलो कामको रुपमा सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्ने कार्य गरेको मन्त्रीले बताउनुभयो। ‘धनगढीमा स्थापना भएको पर्यटन बोर्डको कार्यालयले यो प्रदेशमा पर्यटन विकास गर्न मार्गदर्शन गर्नेछ’, उहाँले भन्नुभयो। पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले तीन दिनसम्म मार्ट सञ्चालन हुनेछ।

मार्टको दोस्रो दिन अतिथिलाई धनगढीको शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबा, कञ्चनपुरको लिङ्गाहुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनी झोलुङ्गे पुलको भ्रमण गराउने मार्टका संयोजक एवम् नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिनुभयो। त्यस्तै, तेस्रो दिन घोडाघोडी बर्ड सेन्चुरी, टीकापुर पार्क, कर्णाली पुलको भ्रमण अवलोकनका साथै कर्णाली नदीमा ¥याफ्टिङ गराउने आयोजकले जानकारी दिएको छ। सुदूरपश्चिमको पर्यटनलाई भारतीय पर्यटक माझ प्रचार गर्ने लक्ष्यका साथ मार्ट आयोजना गरिएको भट्टले बताउनुभयो। मार्टको पहिलो दिन स्वदेशी तथा विदेशी सहभागीबीच व्यावसायिक अन्तरक्रियासमेत गरिएको छ।

तपाईको प्रतिक्रिया