चुनावी गठबन्धन आवश्यक छ : गृहमन्त्री

  चैत २५, २०७८

बेनी, चैत २५ : गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको सरकारमा सामेल दलबीच चुनावी गठबन्धन आवश्यक रहेको बताउनुभएको छ। नेपाल छन्त्याल सङ्घको सातौं केन्द्रीय अधिवेशन उद्घाटन गर्न म्याग्दी आउनुभएका गृहमन्त्री खाँणले नेपाली काँग्रेस म्याग्दीको कार्यालयमा पार्टी कार्यकर्ता एवम् शुभेच्छुकको छलफलका क्रममा उक्त कुरा बताउनुभएको हो।

माओवादीलाई गिरिजाप्रसाद कोइरालाले सम्झौता गरेर शान्ति प्रक्रियामा ल्याएको र अहिले बहुमतको सरकारबाट हटाउनका लागि पनि सहमति भएकाले चुनावमा पनि गठबन्धन आवश्यक भएको बताउनुभयो।

अहिले सहकार्य भएका दलसँग अप्ठेरो परिस्थितिमा सहकार्य भएको हुँदा गठबन्धन गरेरै निर्वाचनमा सहभागी हुने मन्त्री खाँणको भनाइ छ। गएको निर्वाचनमा कमजोर देखिएको काँग्रेस कम्युनिस्ट पार्टीको फुटले अहिले सत्तामा पुगेको उहाँले बताउनुभयो।

अघिल्लो सरकारले नागरिक अधिकार, स्वतन्त्रता, संस्कृतिमाथि प्रहार गरेको मन्त्री खाँणको भनाइ थियो। मन्त्री खाँणले गुठी विधेयक, सञ्चार विधेयक जस्ता विधेयकले संस्कृति तथा स्वतन्त्रतामाथि प्रहार भएको बताउनुभयो। संविधानमा व्यवस्था नै नभएको प्रावधान प्रयोग गरेर दुई पटकसम्म संसद् विघटन हुनु गलत भएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया