राजस्व छलेर ल्याइएको तीन हजार किलो चिनी बरामद

  चैत २५, २०७८

नेपालगञ्ज, चैत २५ : भारतबाट चिनीको अवैध आयात ह्वात्तै बढेको छ। माग बढेपछि तस्करले अवैध आयात सुरु गरेका हुन् । सोही क्रममा भारतबाट भन्सार राजस्व छलेर अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणमा चिनीलगायत अन्य अवैध सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगञ्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको टोलीले बिहीवार नेपालगञ्ज–१२ कोरियनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएको तीन हजार केजी चिनी बरामद गरेको हो।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक तिमिल्सिनाको टोलीले भारतबाट नेपालगञ्ज ल्याइएको अवैध चिनीलाई नेपाली कम्पनीको नाम लेखिएको बोरामा राखिएको अवस्थामामा ३ हजार केजी चिनीसहित ६० वटा भारतीय कम्पनीको नाम लेखिएको बोरासमेत बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीले सोही स्थानबाटै चिनीसँगै १ लाख ४५ हजार रुपियाँ बराबरको २९ बोरा सुपरपावर सुर्ती बरामद गरेको छ। बरामद गरिएको उक्त चिनी र सुपरपावर सुर्ती नेपालगञ्जदेखि सुर्खेत लैजान तयारी हालतमा राखिएको अवस्थामा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो।

त्यस्तै सशस्त्र प्रहरीले नेपालगञ्जको चौलिका चेकपोस्टबाट १ लाख ३० हजार रुपियाँ बराबरका एक थान ई–रिक्सा र गाडीमा लगाइने ३ थान ठूलो ब्याट्री बरामद गरेको छ। बिहीवार बिहान दक्षिणतर्फबाट नेपालगञ्ज आउँदै गरेको उक्त ई–रिक्साबाट चेकजाँच गर्दा उक्त ब्याट्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको अन्दाजी ४ लाख ५५ हजार रुपियाँ बराबरको उक्त चिनी लगायत सबै अवैध सामग्रीलाई बिहीबार नै नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया