लैनचौरमा नारायण मन्दिर निर्माण

  चैत २५, २०७८

काठमाडौँ, चैत २५ : काठमाडौँको लैनचौरमा रु ४७ लाखको लागतमा नारायण मन्दिर निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्‍ययाएको काठमाडौँ महानगरपालिका–२६स्थित लैनचौरको पीपलबोटमा रहेको उक्त मन्दिर काठमाडौँ महानगरपालिका सम्पदा महाशाखाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर (रम्बा) रजकले एकतले मन्दिरलाई तला उठाएर भजनकीर्तन र नाचगान गर्ने ठाउँ पनि निर्माण गरिएको जानकारी दिनुभयो । “दुईतल्ले मन्दिरको तल्लो भागमा भजन कीर्तन र नाचगान गर्ने ठाउँ छ भने माथिल्लो भागमा १० अवतार र अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन्,” उहाँले भन्नुभयो ।

उक्त मन्दिरमा प्रत्येक दुई वर्षको असार महिनामा १०८ कन्यालाई पूजा गर्दै आइएको अध्यक्ष रजकले बताउनुभयो । त्योबाहेक प्रत्येक वर्षको दसैँमा नवकन्याको पूजा, शिवरात्रिमा पूजा एवम् धुनी बाल्ने काम पनि हुँदै आएको छ । प्यागोडा शैलीमा निर्माण गरिएको उक्त मन्दिरको काठमा कुँदिएका झ्याल तथा ढोकाहरु हालिएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले भूकम्पले क्षति पुगेका वडाभित्रका भौतिक संरचना सांस्कृतिक सम्पदाको स्थानीय सरकार आएसँगै क्रमशः पुनःनिमाण हुँदै गएको बताउनुभयो । “मेलम्ची खानेपानी आयोजना र विद्युत् प्राधिकरणको तार अन्डरग्राउन्डका कारण वडाभित्रको बाटो कालोपत्र गर्न समय लागेको छ, अन्य भौतिक पूर्वाधार भने निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो ।काठमाडौँ महानगरपालिका–२६ अन्तर्गत ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, म्हैपी, नयाँबसपार्क, रानीबारी, कपुराधालगायत क्षेत्र पर्दछन् ।

तपाईको प्रतिक्रिया