हिमाली जिल्लामा नेपाल एयरलाइन्सको उडान विस्तार

  चैत २४, २०७८

हुम्ला चैत २४ : सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले साविक कर्णालीका पाँचमध्ये चार हिमाली जिल्लामा सहुलियत उडान विस्तार गरेको छ । बिहीबारबाट डोल्पा जिल्लामा उडान सुरु गरेको एयरलाइन्सले कर्णालीका कालिकोटबाहेक सबै जिल्लामा सहुलियत उडान विस्तार कार्य सुरु गरेको हो ।

नागरि उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरणमान श्रेष्ठले आजबाट डोल्पामा सहुलियत उडान भर्न सुरु गरेको जानकारी दिनुभयो । यसअघि हुम्ला र जुम्ला जिल्लामा उडान सुरु गरेको एयरलाइन्सले केहीँ समयपछि मुगुको ताल्चा र बाजुराको कोल्टीका लागि नेपालगञ्जबाट एयरलाइन्सले उडान गरेको थियो ।

उडान तालिका अनुसार हाल हप्तामा उडान र लाग्ने सहुलियत टिकटदर भने यस्तो छ । श्रेष्ठका अनुसार हुम्लाको सिमकोटका लागि हप्तामा चार वटा उडान र नेपालगञ्जबाट सिमकोटका लागि भाडादर सात हजार २९५ रुपियाँ, जुम्लाका लागि हप्तामा दुई उडान र टिकटदर छ हजार २७० रुपियाँ, मुगुको ताल्चाका लागि हप्तामा चार वडा उडान र टिकटदर छ हजार ७३५, डोल्पामा हप्तामा एक उडान र टिकटदर छ हजार ११५ रुपियाँ कायम छ ।

यसैगरी, बाजुराको कोल्टीमा लागि हप्तामा पाँच उडान र टिकटदर छ हजार २७० रुपियाँ कायम गरिएको छ । यी क्षेत्रमा निजी एइरलाइन्सहरुले चार्टर उडान गर्दा दश हजारभन्दा बढी भाडादर लिने गरेको छ । निजी एयरलाइन्सहरु काठमाडौं केन्द्रित भएको बेला एयरलाइन्सले हाल नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया