लीलावती खोलामा ५० हजार भुरा माछा छाँडियो

  चैत २४, २०७८

काभ्रे, चैत २४ : पनौती नगरपालिकाले लीलावती खोलामा ५० हजार भुरा माछा छाडेको छ । वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको नगरपालिकाले जनाएको छ ।

पनौती नगरपालिका कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले वडा न १ मानेदोभानदेखि वडा न २ र ३ को लीलावती सिंचाइ कुलोको बाँधसम्म राहु, असला र नैनी प्रजातिका ५० हजार माछाका भुरा छोडिएको जानकारी दिनुभयो ।

पनौती नगरपालिका नगरप्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बन्जरा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडा न १ का अध्यक्ष गुणनाथ सापकोटालगायतले बिहीबार लिलावती खोलामा माछाका भुरा छाड्नुभएको थियो ।

नगरप्रमुख न्यौपानेले लीलावती खोलामा स्थानीय जातको माछा लोप हुनेक्रम बढेपछि त्यसको संरक्षणका लागि भुरा माछा छाडिएको जानकारी दिनुभयो । “स्थानीय जातको माछालाई संरक्षण गर्ने र पर्यटकलाई आकर्षित गर्ने नगरले लक्ष्य लिएको छ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो, नीतिगत कानून नै बनाएर नगरले माछाको संरक्षण गर्नेछ ।

केही बर्ष अगाडिसम्म लीलावती खोलामा असला माछा पाइने गरेको भए पनि पछिल्लो समय करेन्ट र विषादी प्रयोगले परम्परागत र स्थानीय जातका माछा लोप हुने क्रम बढेकोे स्थानीयको भनाइ छ । रेम्बो ट्राउट माछाका लागि प्रख्यात उक्त क्षेत्रमा स्थानीय जातका माछा समेत पाइने भएको छ । नगरपालिकाले कार्यविधि बनाएर माछाको संरक्षण गर्ने नीति लिएको छ ।

एक वर्षसम्म सो खोलामा माछा मार्न पाइँदैन । स्थानीयले टोल समिति बनाएर निश्चित समयमा मात्र माछा मार्न पाउने गरी नियम बनाउन सक्ने नगरपालिकाले जनाएको छ । एक वर्षसम्म माछा हुर्कन समय लाग्ने भएकाले एक वर्षसम्म खोलामा माछा मार्न नपाउने कानुन नगरपालिकाले बनाउने जनाएको छ । माछा जोगाउन ठाउँ ठाउँमा होर्डिङ बोर्ड राखेको छ ।

तपाईको प्रतिक्रिया