नेपालगञ्ज उपमहानगरको मेयरमा दर्जन बढीको दावी

  चैत २४, २०७८

नेपालगञ्ज, चैत २४ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि दर्जन बढी नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सो पदको लागि टिकट पाउन उहाँहरुको दौडधुपमा बढेको छ।

उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा मुख्य दलहरुबाट उम्मेदवार बन्न चाहनेहरुले शक्तिकेन्द्रहरु धाउन थालेका छन् । स्थानीय नेता कार्यकर्तासँगको भेटघाटलाई पनि उहाँहरूले बाक्लो बनाउनुभएको छ ।

सत्ता गठबन्धन दलहरुबीच गठबन्धन हुने सम्भावनाबीच दर्जन बढी नेताहरु नेपालगञ्जको मेयर बन्ने दौडमा सक्रिय देखिन्छन् । जनता समाजवादी पार्टीबाट कमरुद्दीन राई, नेकपा एमालेबाट पशुपति दयाल मिश्र र नेकपा एकिकृत समाजवादीबाट शमसुद्दिन सिद्दिकीको उम्मेदवारी निश्चित प्रायः भैसकेकाले उहाँहरु प्रचार प्रसारमा जुटिसक्नुभएको छ ।

राई, मिश्र र सिद्दिकीले वडा वडामा गएर संगठन निर्माणसँगै जनतासँग पनि सम्पर्क बढाउन थालेका छन् । जसपाका राईले गएको निर्वाचनमा पनि राम्रो मत ल्याएर पराजित भएकाले उहाँले सो समयबाटै यो निर्वाचनको तयारी शुरु गरेर जनताको काम गर्दै आउनुभएको छ ।

मिश्र मेयरमा टिकट पाउने शर्तका साथ एमालेमा केही महिना पहिले मात्र प्रवेश गरेकाले पहिलेदेखि नै दावेदार रहेका नेता कार्यकर्ताहरु भित्रभित्रै असन्तुष्ट देखिएका छन् । उम्मेदवार छनोटमा नेकपा माओवादी र नेपाली काँग्रेसमा तीनजना भन्दा बढी दावेदार देखिएपछि आन्तरिक गृहकार्यमा दुवै दल लागेका छन् ।

नेपाली काँग्रेसमा मेयर पदमा पराजित डा. सुरेश कुमार कनोडिया, वर्तमान उपमेयर उमा थापामगर, काँग्रेसको नगर सभापति प्रशान्त विष्ट, व्यवसायी नेता अच्युत प्रसाईं र ललित रौनियार टिकटका प्रवल दावेदार हुनुहुन्छ । यी बाहेक महासमिति सदस्यहरु निरन्जनसिंह सिजापति र राजकुमार बर्मा पनि आकांक्षी हुनुहुन्छ । काँग्रेसबाट कनोडियाको सम्भावना सबैभन्दा बढी देखिएको छ । टिकटको टुंगो नलाग्दै उहाँले प्रचार प्रसार तीव्र पारिसक्नु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट व्यापारिक पृष्ठभूमिका नेताहरु नन्दलाल वैश्य र आदेश अग्रवाल तथा जनयुद्धमा संघर्ष गरेका नवीन शर्माको दावेदारी बलियो छ । तर वैश्यले टिकट पाउने सम्भावना बढी देखिएको बताइएको छ ।

राप्रपाबाट हाल वडा नम्बर ४ का वडा अध्यक्ष मो. सफिक बेहना, गौरव चन्द लगायतले मेयरमा दाबी गरेका छन् भने राप्रपा नेपालबाट अभयकुमार बस्नेतको सम्भावना बढी छ । शिवसेना नेपालबाट होटल व्यवसायी दीवाकर शर्माले उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरमा मेयरका लागि मुख्य प्रतिष्पर्धा जनता समाजवादी पार्टी र नेपाली काँग्रेसका उम्मेदवारबीच नै हुने आकंलन अधिकांशको छ । तर, नेकपा माओवादी र एमालेले पनि आफू सबैभन्दा अगाडि रहेको दावी गरिरहेका छन् ।

जनता समाजवादी पार्टीले नेपालगञ्जलगायत चार पालिकामा गठबन्धन नगर्ने घोषणा गरिसकेको छ । यदि गठबन्धन भयो भने पनि गठबन्धनका तर्फबाट मेयरमा जसपा र काँग्रेसको मुख्य दावी रहने तथा एमालेसँग प्रतिष्पर्धा हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया