नायक शाहको थुनछेक बहस सुरु

  चैत २३, २०७८

तनहुँ, चैत २३: नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पूर्पक्षका लागि तनहुँ कारागारमा रहनु भएका कलाकार पल शाहसँग मङ्गलबारबाट नवलपुर जिल्ला अदालत कावासोतीले थुनछेक बहस सुरु गरेको छ ।

कलाकार पल शाहलाई बहसका लागि मङ्गलबार नवलपुर लगिएको थियो । कावासोतीस्थित नवलपुर जिल्ला अदालतले थुनछेक बहसका लागि पत्र आएकाले मङ्गलबार नवलपरासी पठाइएको तनहुँ कागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कलाकारका शाहलाई तनहुँका अतिरिक्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोपमा उजुरी परेको थियो । सरकारी वकिल कार्यालय नवलपरासीले नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गरेकाले थुनछेक बहसका लागि तनहुँबाट नवलपुर पठाइएको छ । तनहुँमाजस्तै शाहविरुद्ध १२ देखि १४ वर्ष सजायको माग दावी र मुनासिब क्षतिपूर्तिको माग गर्दै नवलपुरमा मुद्दा दर्ता गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । नाबालिका भनिएका गायिकाको उमेर १५ वर्ष ९ महिना ११ दिन रहेको जाहेरीमा उल्लेख गरिएको छ । अभिनेता शाहको बयान सकिएपछि वादी र प्रतिवादीको तर्फबाट अदालतमा बहस हुनेछ । दुवै पक्षका वकिलले बहस गरेपछि थुनछेक आदेश हुने प्रावधान छ ।

थुनछेकमार्फत् शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश सुनाइन्छ । तनहुँमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । शाहका वकिलहरुले तनहुँ जिल्ला अदालतको पूर्पक्षका लागि तनहुँ कारागारमा आदेशविरुद्ध चैत १५ मा निवेदन दिनुभएको थियो । निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया