सम्पर्क विहीन बालिका भेटिइन्

  चैत २३, २०७८

तनहुँ, चैत २३ : घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला परेकी छन् । राष्ट्रिय समाचार समितिले प्राथमिकताका साथ ‘तनहुँमा बालिका बेपत्ता’ शीर्षकमा आज बिहानको बुलेटिन समाचार प्रकाशित भएपछि बालिका सकुशल भेटिएकी हुन् ।

स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत परियारलाई ऋषिङ–२ काँहु शिवपुर निवासी रेखीमाया बरालीले भेटेपछि आफ्नै घरमा राख्नुभएको हो । छिमेकी गाउँ थप्रेक हुँदै दिउँसो करिब ११ बजेको समयमा ऋषिङ–१ गैह्राखुदी भन्ने ठाउँमा पुगेको भन्नेसम्म जानकारी पाए पनि त्यसपछि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका थिए ।

बाटोमा हिँड्दै गरेको अवस्थामा वृद्धा आमाले ‘गाडीमा नगएर किन हिँडेको नानी ?’ भनेर सोध्दा रुन थालेपछि कहीँकतै जान नदिई आफ्नै घरमा राखेर ठूलो सहयोग गर्नुभएको शिक्षक एवं स्थानीयवासी तीर्थ बर्देवाले जानकारी दिनुभयो ।

घरबाट पक्कै पनि भागेर हिँडेको शङ्का लागेपछि बालिकालाई कतै जान नदिई आफ्नै निगरानीमा राखेर खाना खुवाएर सुताएको बरालीले जानकारी दिनुभयो । मङ्गलबार नै पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा खोजतलासका लागि जाहेरी दिएका थिए । छोरी भेटिएपछि खमबहादुरको परिवारले खुसी हुँदै सञ्चारकर्मीलाई समेत धन्यवाद प्रकट गरेको थियो ।

तपाईको प्रतिक्रिया