अवैध लागुऔषधसहित दुई र बैंकिङ कसुरमा एक व्यक्ति पक्राउ

  चैत २३, २०७८

काठमाडौँ, चैत २३ : काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रमोदकुमार मेहेता रहेका छन् ।

नागढुङ्गास्थित सुरक्षा चौकीमा खटिएको प्रहरीले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ख ७१३२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार साहिदको साथमा नाइट्राभेट ६०० ट्याब्लेट फेला परेको थियो ।

यस्तै काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख २३१४ नम्बरको बसमा सवार प्रमोदलाई डाइजेपाम २०० एम्पुल, लुपिजेसिक २०० एम्पुल र नाइट्राभेट एक हजार ८०५ ट्याब्लेटसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोकका ३३ वर्षीय बज्रसिंह लामालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको यही चैत १ गतेको फैसलाले उक्त मुद्दामा आठ दिन कैद र रु २५ लाख जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो ।

लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

तपाईको प्रतिक्रिया