निर्वाचन अनुगमन समिति बैठक सकियो : अर्को बैठक चैत २७ गते बस्‍ने

  चैत २३, २०७८

काठमाडौं, चैत २३ : बुधबार बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक चुनावी तालमेलको मोडालिटीबारे सामान्य छलफल गर्दै सकिएको समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिनुभयो। मंगलबारको सत्ता गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको थियो।

बुधबार बसेको समितिको पहिलो बैठकमा सत्तामा सहभागी दलको चुनावी तालमेलको विषयमा औपचारिक छलफल सुरु भएको डा. भुसालले प्रष्ट पार्नुभयो। ‘पहिलो बैठकमा सत्तारुढ दलबीच हुने चुनावी तालमेलको रणनीति कस्तो बनाउने भन्ने विषयमा औपचारिक रुपमा छलफल भएको छ’, डा. भुसालले भन्नुभयो, ‘गठबन्धनमा सहभागी दललाई कुन मोडालिटीको तालमेलमा सहभागी गराउन सकिन्छ भनेर हामीले आज छलफल मात्र सुरु गरेका छौँ।’

नेकपा (एकीकृत समाजवादी)का महासचिवससमेत रहनुभएका डा. भुसालले बैठकले थप केही निर्णय नगरेको उल्लेख गर्नुभयो। चुनावी तालमेलका लागि थप गृहकार्य गरेर अर्को बैठक चैत २७ गते बस्ने उहाँको भनाइ छ। ‘समितिको अर्को बैठक चैत २७ गते दिउँसो ४ बजे बस्नेछ’, डा. भुसालले भन्नुभयो।

काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वको समितिमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका शीर्ष १० नेता सदस्य हुनुहुन्छ।

समितिमा नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन सदस्य हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)बाट महासचिव डा. भुसाल, उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र र जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ।

नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङले सबै जिल्लाबाट त्यहाँकाे बस्तुगत अबस्थाकाे प्रतिवेदन आएपछि सिट बाँडफाँड सहित सबै विषयमा छलफल गर्ने बताउनुभयाे । स्थानीय तहकाे निर्वाचनमा हामी पाँचै दल एक भएर जाने उहाँले बताउनुभयाे ।

सत्ता गठबन्धनले समितिलाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा हुने गठबन्धन र तालमेलको तयारी तथा अनुगमनको जिम्मेवारी दिएको छ।

तपाईको प्रतिक्रिया