दु्रतमार्गको निरीक्षण गर्दै मुख्यमन्त्री

  चैत २३, २०७८

हेटौँडा, चैत २३ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले तराई काठमाडौँ जोड्ने दु्रतमार्गको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार पाण्डेले दु्रतमार्गको कार्य प्रगतिबारे जानकारी लिन र समयसीमाभित्र उक्त मार्ग पूरा गराउनका लागि निरीक्षण गर्नुभयो । नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त मार्गको कार्य करिब १२ प्रतिशत सकिएको विवरण प्राप्त भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

साथै उक्त मार्ग निर्माणमा बन्ने तीन वटा सुरुङमार्गमध्ये उहाँले आज दुई वटा सुरुङमार्गको निरीक्षणसमेत गर्नुभएको हो । निर्माण सामग्रीको जाँच गर्ने प्रयोगशाला र कच्चपदार्थ उत्पादनका लागि बनाइएको क्रसर, सुरुङ, पुलसहित पाँच किलोमिटरसम्म निरीक्षण गरिएको मुख्यमन्त्री पाण्डेले जनाउनुभयो । राष्ट्रिय गौरवको आयोजनामा रहेको दु्रतमार्गले विकासको गति तीव्र बनाउने कारणले पनि समय सीमाभित्र निर्माण कार्य सकाउनपर्ने उहाँको भनाइ छ ।

नेपाली सेनाका प्राविधिक सेनानी रामसागर यादवले समय सीमाभित्र दु्रतमार्ग निर्माण कार्य सकिने बताउनुभयो । चार वर्षको समयसीमा रहेकामा हालसम्म लक्ष्यअनुप कार्यप्रगति भएकोले पनि समयसीमामा काम सकिने उहाँले दाबी गर्नुभयो । रुख कटानको कार्य सकिएको बताउँदै प्राविधिक सेनानी यादवले जग्गा सम्झौतालगायतका कार्य सकिएको तीन सुरुङ पनि तीव्रगतिमा निर्माण भइरहेको बताउनुभयो । एक खर्ब ७० अर्ब बजेटको ७२.५ किलोमिटर दुरी रहेको मार्गले सङ्घीय राजधानीलाई एक घण्टामा तराईसँग जोड्नेछ ।

तपाईको प्रतिक्रिया