गुरुङ संस्कार जोगाउन चलचित्र निर्माण

  चैत २३, २०७८

लमजुङ,चैत २३ : लामो समयदेखि हङकङमा बसोबास गर्दै आउनुभएका लमजुङका गणेश गुरुङ (सुवास) गुरुङ संस्कार र संस्कृति जोगाउन चलचित्र निर्माणमा क्रियाशील हुनुहुन्छ छ । आफ्ना परम्परागत भाषा, संस्कार र संस्कृति लोप हुन थालेपछि यसको संरक्षण गर्न उहाँ दुई दशकदेखि निर्माता, निर्देशक, कथा लेखन र अभिनयसमेत गर्दै चलचित्र निर्माणमा क्रियाशील रहँदै आउनुभएको हो ।

लमजुङमा दोर्दी गाउँपालिका–१ भारते ढिन गाउँमा विसं २०३४ भदौ ७ गते पिता स्व सिंहबहादुर गुरुङ र माता स्व पदमकुमारी गुरुङको कोखबाट जन्मनु भएका गणेशले ०५८ सालमा गुरुङले सिनेमा ‘काँशी’ (कान्छी)मा पहिलोपटक कलाकार तथा सहनिर्देशकको भूमिका निर्वाह गर्नुभएको थियो । सूर्योदय उच्च माविबाट विसं २०५० मा एसएलसी पास गरेपछि उहाँले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्म अध्ययन गर्नुभयो । विसं २०५४÷५५ देखि नेपाल टेलिभिजनमा हिजो आजका कुरा र कान्तिपुर टेलिभिजनमा करुणा टेलिसिरियलमा आबद्ध हुँदै गर्दा विसं २०५७ मा राष्ट्रिय नाचघरबाट अभिनय तथा नाटक निर्देशनको प्रशिक्षण लिएर चलचित्र निर्माणमा पनि हात बढाउनुुभएको थियो ।

आइएफएबाट निर्देशन तालिम तथा स्क्रिप्ट राइटिङको कोर्ससमेत पूरा गर्दै विसं २०६० मा गुरुङले चलचित्र ‘ठूलो मान्छे’ (म्हिथेवा) निर्माण गर्नुभयो । चलचित्र निर्माणसँगै कथावस्तु लेखन तथा निर्देशनतर्फ समेत अघि बढ्नुभएका उहाँले विसं २०६१ मा चलचित्र ‘ङै नासा’ (मेरो गाउँ) को लेखन तथा निर्देशन गर्नुभयो ।

त्यस्तै विसंं २०६२ मा ‘भुलिगए पाप लाग्ला’, विसं २०६३ मा ‘ङै जिन्दगी’ (मेरो जिन्दगी), सोही वर्ष ‘ङै क्या’ (मेरो बाटो), विसं २०६५ मा ‘म्होरा’ (सपना), विसं २०६६ मा ‘आस्यो’ (मावली) लगायत चलचित्र लेखन तथा निर्देशन गर्नुभयो । । त्यस्तै उहाँले २०६८ मा ‘कर्मरेखा’ चलचित्र निर्माण गर्नुभएको थियो भने विसं २०७३ मा चलचित्र ‘भेँडीगोठाले’ को लेखन तथा निर्देशन गर्नुभयो । उक्त चलचित्रले विसं २०७४ मा चलचित्र विकास बोर्डबाट ‘बेस्ट अवार्ड’ पाएको थियो । विसं २०७४ मा निर्माता तथा निर्देशक गणेशले चलचित्र ‘खै ओ म्हिथेवा’ (फर्कि आयो ठूलो मान्छे) को निर्देशन तथा कथावस्तु तयार गर्नुभयो । सोही वर्ष ‘कुटुम्बरी साइनो’ पनि उहाँले निर्माण गर्नुभयो ।

विसं २०७६ मा ‘मारक्यु’ अर्थात् सुनपानीको कथा लेखन गर्नुभयो । निर्माता तथा निर्देशक गुरुङले भन्नुभयो, “जातीय, भाषिक र सांस्कृतिक गतिविधि ओझेलमा पर्न गइरहेको अवस्थामा हाम्रो मौलिकतालाई जगेर्ना गर्ने लक्ष्यका साथ गुरुङ संस्कृतिमा आधारित चलचित्र बनाइरहेको छु । नयाँ पुस्ताले भाषा, संस्कार, संस्कृति बिर्संदै गएकाले त्यसलाई उजागर गर्न चलचित्रमार्फत अघि बढिरहेको र आगामी दिनमा समेत निर्माण गर्ने उहाँको भनाइ थियो । चलचित्र क्षेत्रमा मात्र नभई नेपाली म्युजिक भिडियोमा समेत निर्देशन गर्नुभएका गुरुङले हालसम्म १२ वटा म्युजिक भिडियोको निर्देशन गरिसकेको बताउनुभयो । उहाँले केही समयअघि अभिनय गरेको ‘कौडा’ गीतका साथै तारा श्रीष मगर, रामकुमार गुरुङ लगायतको स्वर रहेको ‘रोधी घरको आगनी–३’ बजारमा आइसकेको छ ।

कलाकार गुरुङले हालसम्म आधा दर्जनभन्दा बढी विभिन्न अवार्डसमेत जित्नुभएको छ । विसं २०७२ मा ‘गुरुङ फिल्म अवार्ड’ (उत्कृष्ट अभिनय तथा उत्कृष्ट फिल्म अवार्ड), विसं २०७३ मा चलचित्र विकास बोर्डले प्रदान गरेको ‘उत्कृष्ट जनजाति राष्ट्रिय फिल्म अवार्ड’ (म्हिथेवाबाट), सन् २०१८ मा भँेडीगोठाले चलचित्रबाट ‘उत्कृष्ट निर्देशन अवार्ड’ (निफबाट), ‘न्युयोर्क ओनरेवल मोसन अवार्ड’–२०१९, जर्मनीको बर्लिनमा फल्यास चलचित्र महोत्सवबाट अवार्ड र कतारमा भेँडीगोठाले चलचित्रबाटै उत्कृष्ट ‘जनजाति फिल्म स्टार इन्टरनेशनल अवार्ड’ २०१९ लगायत दर्जनौँ अवार्ड जितिसक्नु भएको छ ।

लामो समयदेखि हङकङमा ग्रीन कार्ड लिएर बस्नुभएको छ । उहाँले हङकङमासमेत विभिन्न गीतको निर्देशन गरिसक्नुभएको छ भने, पटकपटक नेपाल आएर विभिन्न गीत तथा चलचित्र निर्माण, निर्देशन तथा अभिनय गर्दै आउनुभएको छ । यतिबेला गुरुङ नेपालमै हुनुहुन्छ । हङकङमा रहेको बेलामा पनि मन भने गुरुङ चलचित्र र म्युजिक भिडियोमै हुने गरेकाले आगामी दिनमा समेत गुरुङ चलचित्र र म्युजिक भिडियोलाई निरन्तरता दिने उहाँको भनाइ थियो । केही महिनाभित्रै पुरानो घर चलचित्र निर्माण गर्ने तयारीमा रहेको र त्यसको निर्माता, लेखक तथा निर्देशक सबै आफूले नै गर्ने उहाँले बताउनुभयो ।

उक्त चलचित्रबाहेक अन्य दुईतीनवटा गुरुङ चलचित्र निर्माण गर्ने तयारीमा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “चलचित्रका लागि कथावस्तु तयार भइसकेको र चलचित्रका लागि कता कुन ठाउँ छनोट गर्ने भन्नेमा फिक्स भइनसकेकाले रोकिरहेको छ तर चाँडै नै चलचित्र छायाङ्कनमा जाने छु ।” विगतमा निर्माण तथा निर्देशन गरेको चलचित्रहरु युरोपलगायत विभिन्न देशमा प्रदर्शन भइसकेकोे र अब निर्माण हुने चलचित्र पनि नेपालसहित उक्त देशहरुमा प्रदर्शन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया