इलामको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी भवन निर्माण

  चैत २३, २०७८

पशुपतिनगर (इलाम), चैत २३ : इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका ५ समालबुङ र सन्दकपुर गाउँपालिका ५ जौबारीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको हो । नेपाल भारत सीमा क्षेत्रका विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको थियो ।

दुबै स्थानका बीओपीको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले उद्घाटन गर्नुभयो । भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले कुनै कन्जुस्याँई गर्न नहुने बताउनुभयो । उहाँले सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा सुरक्षा मजबुत बन्दै गएको बताउनुभयो ।

समालबुङ र जौबारीमा सशस्त्र प्रहरीको दुई तले भवन निर्माण गरिएको हो । यस अघि ती क्षेत्रमा सशस्त्र प्रहरी अस्थाई संरचनामा बस्दै आएको थियो । रोङ गाउँपालिकाको दुर्गम सलकपुरमा पनि सशस्त्र प्रहरीको आफनै भवन निर्माण भैसकेको छ । अन्य सीमा क्षेत्रमा पनि चाडै भवन निर्माण गरिने जनाइएको छ ।

सूर्योदय नगरपालिका ५ को समालबुङमा बीओपी स्थापनाका लागि स्थानीय तारादेबी खत्री, मनोजकुमार खत्री, बिष्णु कुमार खत्री, टेक बहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । उक्त अवसरमा जग्गा दातालाई सम्मान समेत गरिएको छ । सन्दकपुरको जौबारीमा भने गाउँपालिकाले संयोजन गरेर जग्गा उपलब्ध गराएको छ । सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले सशस्त्र प्रहरी सीमा क्षेत्रमा बस्न थालेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती कम भएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार रोङको मेची किनारदेखि सन्दकपुर डाँडा सम्मक ५२ दशमलब ५ किलोमिटरको १५ स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने योजना छ । हाल सात वटा बिओपी स्थापना भैसकेका छन् भने अब नयाँ आठ स्थानका लागि प्रस्ताव गरिसकिएको छ ।

इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरीङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सीमा विवाद रहेको छ । छब्बीसे, हिले पुलखोला, सन्दकपुरलगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दे आएका छन् ।

तपाईको प्रतिक्रिया