पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

  चैत २३, २०७८

बैतडी, चैत २३ : बैतडीको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् ।चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ ।

पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्शनले करिब रु दुई करोडको लागतमा निर्माण गरेको हो । यस्तै शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरिएको थियो । विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण थालिएको हो ।

स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भइरहेकामा अब त्यो समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । भवन निर्माणसँगै सेवा सुरु गरिएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो ।भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवाप्रवाहमा सहजता आएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो ।

तपाईको प्रतिक्रिया