दललाई समेटेर काँग्रेस निर्वाचनमा अघि बढ्छ : गृहमन्त्री

  चैत २२, २०७८

बारा, चैत २१ : गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनभित्र रहेका सबै दललाई समेटेर नेपाली काँग्रेस निर्वाचनमा अगाडि बढ्ने बताउनुभएको छ । बाराको सिम्रौनगढमा सोमबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले गठबन्धन भित्र रहेका सबै दललाई सम्मान गरी मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

गाउँ, शहर, बस्ती टोल–टोलमा गठबन्धनका दललाई पनि मिलाएर अगाडि बढ्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले नेपालको मालिक नेपाली जनता भएको हुँदा लोकतान्त्रिक पद्धतिअनुसार आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सरकारले शान्तिपूर्ण रुपमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताउनुभयो ।

तराई मधेशसमा विद्यमान नागरिकता समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउँदै नेपालको ईतिहासमा पहिलो पटक प्रहरीको मनोवल बढाउन अधिकृतदेखि जवानसम्मका २० हजार प्रहरीको एकसाथ बढुवा गरिएको उहाँले बताउनुभयो । गृहमन्त्री खाँणले राष्ट्रिय सेवक कर्मचारीको मनोवल बढाउन सरकारले धेरै काम गरेको दावी गर्नुभयो । आगामी निर्वाचनमा प्रहरी प्रशासनले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “सिम्रौनगढ धार्मिक ऐतिहासिकस्थल भएको हुँदा यसको विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको छ ।” पार्टी प्रवेश कार्यक्रमले काँग्रेसलाई थप उर्जा प्राप्त भएको र काँग्रेस बलियो भएमा देशमा समृद्धि र लोकतन्त्रको रक्षा हुने उहाँले बताउनुभयो ।

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशंङ्कर यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरी, पूर्वमन्त्री एवम् काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, काँग्रेस बाराका सभापति राजेशराय यादव, पूर्व साँसदद्वय राधेचन्द्र यादव, रामअयोध्याप्रसाद यादव, शम्भुबहादुर बुढाथोकीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख रिमादेवी कुशवाहा, लोसपाका केन्द्रीय सदस्य महेन्द्रप्रसाद यादवसहित नेकपा (एमाले), माओवादी केन्द्र, जसपा र लोसपाबाट निर्वाचित ४ जना वडा अध्यक्षसहित सयौं जना काँगे्रस प्रवेश गरेका थिए । नव प्रवेशीलाई गृहमन्त्री खाँणले फुलमाला र दोसल्ला ओढाएर स्वागत गर्नुभयो ।

तपाईको प्रतिक्रिया