शिवसताक्षीको पूर्वाधार विकासमा रु ११ करोड

  चैत २१, २०७८

झापा, चैत २१ : नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकीयस्थलका पूर्वाधार विकासमा रु ११ करोड २३ लाखभन्दा बढी लगानी गरेको छ । नगरकै गौरवको आयोजनाका रुपमा सताक्षीधाम, दोमुखा, चिल्लागढ, डुडामारी सिमसारलगायत क्षेत्रको पूर्वाधार विकास गरेर वार्षिक लाखौँ पर्यटक भित्र्याउन सफल भएको हो । नगरले कृत्रिम पर्यटकीय क्षेत्र निर्माणमा भन्दा पौराणिक र ऐतिहासिक स्थलको विकासमा विशेष ध्यान दिइएको नगरप्रमुख चन्द्र शेर्माले बताउनुभयो ।

उहाँका अनुसार अन्य क्षेत्रको तुलनामा दोमुखा पर्यटकीय क्षेत्रको विकासमा सबैभन्दा बढी रु पाँच करोड ९१ लाख खर्च गरिएको छ । दोमुखामा स्विमिङ पुल, चिल्ड्रेन पार्क, कनकाई नदीमा तटबन्धनका लागि मात्र रु छ करोड ६१ लाख खर्च गरिएको थियो । नगरप्रमुख शेर्माले सो क्षेत्रका विकासका लागि नगरपालिकाको रु एक करोड ७५ लाख, केन्द्रीय सरकारको १० लाख, पर्यटन मन्त्रालयको रु एक करोड ३० लाख र प्रदेश सरकारको रु ५० लाख र सडकको रु ५० लाख खर्च भएको बताउनुभयो ।

यस क्षेत्रको पर्यटकीय पूर्वाधार विकाससँगै आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको र आसपासका क्षेत्रमा व्यापार व्यवसायसमेत फस्टाएको उहाँको जिकिर थियो ।यसैगरी पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामको पूर्वाधारमा रु दुई करोड ६५ लाख खर्च भएको थियो । सो रकमबाट सडक बनाउने, सडकमा ब्लक ओछ्याउने, ड्रेन, जलकुण्ड निर्माणदेखि मन्दिर परिसरमा विभिन्न संरचना बनाइएको थियो ।

सताक्षीधामको पूर्वाधार विकासका लागि डिपिआरमा मात्र रु २० लाख खर्च भएको छ । यस क्षेत्रका विकासका लागि रु एक करोड ५६ लाख नगरकै खर्च भएकामा रु एक करोड १४लाख केन्द्रीय सरकारको बजेटबाट निकास भएको थियो । हाल यस क्षेत्रमा दैनिकजसो आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । पछिल्लो समय झापाका अन्य स्थानमा भन्दा यहाँ १२ महिना नै पिकनिक गर्न आउने, विभिन्न धार्मिक तथा सङ्घसंस्थाहरुबाट भ्रमण गर्न आउनेको आकर्षणको कन्द्रविन्दु बनेको नगरकी उपप्रमुख भोजकुमारी नेपालले बताउनुभयो ।

नगरको अर्को महत्वपूर्ण पर्यटकीय स्थल चिल्लागडको विकासका लागि रु ८२ लाख खर्च गरिएको थियो । यसैगरी ८० बिघा जमिनमा फैलिएको डुडामारी सिमसार क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण र घेराबार गर्न रु एक करोड ८५ लाख खर्च गरिएको थियो । उहाँले भन्नुभयो, “गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न पर्यटन क्षेत्रले महत्त्वपूर्ण योगदान पु¥याउनका साथै यसले नगरको अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यसकारण पनि हाम्रो पहिलो प्राथमिकता पर्यटकीय क्षेत्रको विकासमा रह्यो ।”

तपाईको प्रतिक्रिया