प्रधानमन्त्रीका छोरासहित श्रीलङ्काका २६ जना मन्त्रीकाे राजीनामा

  चैत २१, २०७८

काठमाडौं, चैत २१ : श्रीलङ्कामा सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका २६ जना मन्त्रीले सामूहिक राजीनामा गर्नुभएको छ । श्रीलङ्का सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको अहिलेसम्मको खराब आर्थिक सङ्कटसँग सामना गरिरहेको छ ।

प्रधानमन्त्री महिन्द्र राजपक्षका छोरा नमल राजपक्षले समेत आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले टीव्टमा भन्नुभएको छ,‘मेरो राजीनामाको कारण राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री महिन्द राजपक्षलाई जनता र सरकारको स्थायित्वको लागि गरिने निर्णयमा सहयोग पुगोस् ।’ मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाए पनि प्रधानमन्त्री महिन्द राजपक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गर्नुभएको छैन ।

असन्तुष्ट सर्वसाधारणले पारिवारिक कारणले देशको यो स्थिति आएको र सत्तामै टिकिरहन यस्तो कदम चालेको आरोप लगाएका छन् । एक टीवटर प्रयोगकर्ताले यस्तो कदमलाई ‘अस्वस्थ प्रहसन’ भनेर लेखेको बीबीसीले उल्लेख गरेको छ ।

आइतबार कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । श्रीलङ्कामा आवश्यक पर्ने इन्धन आयातका लागि चाहिने विदेशी मुद्राको सञ्चिति कम भएदेखि यस्तो सङ्कट आइपरेको हो । लगभग आधा दिन भएको लोडसेडिङ, खाद्यान्न, औषधि, इन्धन अभावले सर्वसाधारण क्रुद्ध छन् । श्रीलङ्काका शिक्षामन्त्री दिनेश गुनावर्दनेले आइतबार मन्त्रिपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया