जनकपुरधाममा मैथिली साहित्य, कला तथा नाटय महोत्सव हुने

  चैत २०, २०७८

धनुषा, चैत २० : मैथिली भाषा साहित्य र कला सँस्कृतिको संरक्षण प्रबर्धनका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव हुनेभएको छ । मैथिली विकास कोष जनकपुरधामको आयोजनामा चैत २३ देखि २५ गतेसम्म हुने सो महोत्सवको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उदघाटन गर्ने कार्यक्रम रहेको मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षण साँस्कृतिक झाँकीसहितको शोभायात्रा, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, समाजिक विभिन्न विषयमा विमर्श, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता तथा नेपाल–भारतको प्रसिद्ध रंगकर्मीद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति रहेको मैथिली विकास कोषका सदस्य सचिब श्यामसुन्दर शशीले जानकारी दिनुभयो ।

महोत्सवमा राजनीति र समाजसँग जोडेर विभिन्न १० वटा विषयमा सम्बन्धित विषयका विज्ञबीच छलफल गरिने कार्यक्रम रहेको छ । महोत्सवमा नेपाल–भारतका कलाकारद्वारा तीन भाषा नेपाली, मैथिली र हिन्दी भाषामा नाटकको मञ्चन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवको उदघाटनसत्रमा संस्थाद्वारा प्रदान गर्दैआएको विभिन्न विधाको पुरस्कारबाट चार जना स्रष्टालाई वितरण गर्ने कार्यक्रम रहेको कोषका अध्यक्ष चौधरीले बताउनुभयो ।

महोत्सवमा तीस लाखभन्दा बढी रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा लाग्ने खर्चका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको भएपनि हालसम्म संस्थाले आफनै कोषबाट महोत्सवको तयारीका लागि गरिने कामकाजलाई अघि बढाएको अध्यक्ष चौधरीले बताउनुभयो । २०५८ सालमा स्थापना भएको मैथली विकास कोषले प्रत्येक दुई वर्षमा यस प्रकारको महोत्सव आयोजना गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया