मेयर आवास कार्यक्रम सञ्चालनको तयारी

  चैत २०, २०७८

रुपन्देही, चैत २० : विपन्न वर्गका नागरिकलाई सुरक्षित आवासको प्रबन्ध मिलाउन तिलोत्तमा नगरपालिकाले मेयर आवास कार्यक्रम सञ्चालनको तयारी गरेको छ । नगर क्षेत्रभित्रका विपन्न तथा पछाडि परेका र आवासको अवस्था कमजोर भएका परिवारका लागि सुरक्षित आवासको प्रबन्ध मिलाउने लक्ष्यअनुसार यो कार्यक्रम सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वार्षिक योजनामा आवासको अवस्था कमजोर भएका विपन्न परिवारका लागि मेयर आवास कार्यक्रममार्फत सुरक्षित आवास उपलब्ध गराउने गरी नीति, कार्यक्रम र बजेट समेत स्वीकृत गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । “जसको छानो छाउने सपना भएर पनि पूरा भएको छैन, त्यस्ता नगरवासीका लागि यो कार्यक्रम अघि सारिएको हो, यसले विपन्नलाई खुसी दिने छ”, प्रवक्ता श्रीले भन्नुभयो ।

कार्यक्रमअन्तर्गत कम्तीमा ५० वटा आवास निर्माणका लागि रु एक करोड विनियोजन गरिएको प्रवक्ता श्रीले बताउनुभयो । समुदायका अति विपन्न नागरिक जसको जग्गा भएर पनि आवास छैन, त्यस्ता नागरिकका साथमा नगर सरकार छ भन्ने अनुभूति दिलाउन मेयर आवास कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

मेयर आवास कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाका केही कानुन तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, २०७४ को दफा ३ र ४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाइएको छ । मेयर आवास कार्यक्रमका लागि नगरपालिकाले निश्चित समय दिएर निवेदन पेस गर्न आह्वान गर्ने र तोकिएको समयमा लाभग्राहीले नगरपालिकाले तोकेको समयभित्र निवेदन पेस गर्नुपर्ने छ ।

प्रवक्ता श्रीका अनुसार नेपाली नागरिकता भई नगरपालिकामा विगत १० वर्षदेखि स्थायी रुपमा बसोबास गर्दै आएको, जग्गाधनी प्रमाणपत्र भएको, घरको भौतिक अवस्थामा छानो वा भुइँ वा भित्ता कच्ची भई राम्रोसँग हावापानी छेक्न नसक्ने अवस्था भएको, सम्बन्धित वडा समितिले सिफारिस गरेको परिवारले आवासका लागि आवेदन दिन सक्नेछन् ।

विपन्न व्यक्तिको घरको क्षेत्रफल, भुइँ, गारो, तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलका आधारमा अङ्क प्रदान गरिने र अन्य आधार पूरा गरी न्यूनतम ४० अङ्क प्राप्त गर्ने परिवारलाई मात्र लाभग्राहीको रुपमा छनोट गरिनेछ ।

सगोलमा रहेका परिवारले एक आवास मात्र पाउने गरी लाभग्राही छनोट गरिनेछ । लाभग्राहीको छनोट मेयर आवास कार्यक्रम समितिले गर्ने छ । मेयर आवास कार्यक्रममा विपन्न समुदाय मात्रै सहभागी हुन सक्ने भएकाले तोकिएको योग्यता पुगी छनोट भएका लाभग्राहीलाई मात्रै यसमा सहभागी बनाइने नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोख्रेलले बताउनुभयो ।

एकल महिला मूली भएका, अपाङ्गता भएका, अनाथ बालबालिका, दीर्घरोगी भएका परिवार, विपद् वा द्वन्द्वपीडित परिवार, चाहेर पनि घर बनाउन नसकेका परिवार, नेपाल सरकारले पहिचान गरेका सीमान्तकृत वर्गका परिवार तथा नगरपालिकाले तोकेका अन्य आधारहरु पूरा भएका परिवारलाई पनि आवास कार्यक्रमका लागि छनोट गरिनेछ ।

मेयर आवास कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले तोकेका इन्जिनियर संयोजक हुने गरी सम्बन्धित वडा कार्यालयको सचिव, सदस्यसचिव र नगरपालिका वा सम्बन्धित वडाका प्राविधिक सदस्यसहित कार्यान्वयन एकाइ रहनेछ ।

नगरपालिकाभित्रका न्यून आय भएका परिवारलाई दृष्टिगत गरेर मेयर आवास कार्यक्रम ल्याइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो । “जसले जग्गा भएर पनि आयस्रोत नहुँदा छानो छाउन सकेका छैनन्, त्यस्ता विपन्न वर्गका नागरिकलाई मध्यनजर गरी यो कार्यक्रम तय गरिरएको हो”, प्रमुख घिमिरेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया