बल्ल पूरा भयोे, नेपाली जनताको रेल चढ्ने सपना

  चैत २०, २०७८

धनुषा, चैत २० : ‘बल्ल पूरा भयोे, नेपाली जनताको रेल चढ्ने सपना ।’ विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो ।

आठ वर्ष २ महिनापछि विधिवत रुपमा रेल सञ्चालन भएको आफ्नै आँखाले हेर्न शनिबार हजारौं सर्वसाधारण बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भेला भएका थिए । प्रचण्ड गर्मीका बावजुद स्कुले छात्र–छात्रा घण्टौं लाइनमा उभिएर पाहुनाको स्वागत गर्न रेल्वे स्टेशनमा आएका थिए । सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

अपराह्न पौने तीन बजे पाहुनासहितको रेल जनकपुर रेल्वे स्टेशन पुग्दा सर्वसाधारणले जयघोष गरेर पाहुनालाई स्वागत गरेका थिए । नियमित रुपमा रेल सञ्चालनमा आएपछि महोत्तरी विजल पुराका रामपुजन महराले रेल चढी जयनगरसम्म घुमेर आउने योजना आफूले बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले सुनेको यो रेल जनकपुर–कुर्थाबाट एकपटक बिहान जयनगर जान्छ रे । साँझ फेरि फर्किन्छ । त्यसैले म बिहानै रेल चढेर जयनगर जान्छु, साँझ फर्किन्छु भन्ने योजनाका साथ जनकपुर रेल्वे स्टेसनमा आइपुगेको छु ।’’ उहाँले आफू यसअघि कहिल्यै रेल नचढेको पनि बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा शनिबार भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आजदेखि नियमित रेल सेवा सञ्चालन भएको छ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । आजदेखि नै तालिका अनुसार नियमित रेल सञ्चालन भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो । झाका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उहाँले जानकारी दिनुभयो ।

यसरी दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि छुट्ने रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ भने पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताउनुभयो । जयनगर पुगेको रेल पुनःदिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ । खुल्ला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताउनुभयो ।

सुरक्षा र खुल्ला सीमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले पनि भारत सरकारद्वारा जारी वैध राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचान–पत्र वा कुनै आइडी कार्ड अनिवार्य बोक्नु पर्ने छ ।कति छ रेल सेवाको भाडादर ? जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको भाडादर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ ।

यस्तो छ रेलको यात्रु बोक्ने क्षमता : गत ०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग रु ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ । दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ । यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघन्टा रहे पनि जयनगर–कुर्था रेल स्टेशनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गतिमा मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया