स्थानीय जनप्रतिनिधिको कार्यकाल उपलब्धिमूलक भएको जिकिर

  चैत २०, २०७८

राँझा, चैत २० : मुलुक सङ्घीयतामा प्रवेश गरेपछिको स्थानीय तहको पहिलो कार्यकाल उपलब्धि  मूलक भएको जनप्रतिनिधिले जिकिर गरेका छन् । पाँचवर्षे कार्यकालमा स्थानीय तहमा उपलब्धिमूलक गरिएको नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले बताएका हुन् ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सङ्घीयता कार्यान्वयनमा नेपाल नमूना भएको बताउँदै पूर्वाधारको काम राम्रो भएको उल्लेख गर्नुभयो । उहाँले तीन तहको सरकारबीच विश्वासको कमी हुँदा कतिपय कुरामा समस्या आउने गरे पनि आफ्नो जिम्मेवारी मात्र पूरा गरे मत्र पनि तोकिएका लक्ष्य पूरा हुने बताउनुभयो ।

स्थानीय तहको यो पहिलो पाँच वर्ष सिकाइको कार्यकाल रहेको औँल्याउँदै सिक्दै कार्यान्वयन गर्दै आगामी नेतृत्वका लागि सबै आधार तय गरिएको अध्यक्ष कक्षपतिको भनाइ थियो । जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले भौतिक पूर्वाधार विकासको दृष्टिकोणले पाँच वर्ष उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा विषयगत समिति र शाखा बीचको समन्वय दरिलो पारेर काम गर्न सके जनताका काम अझै गर्न सकिन्छ भन्नुभयोे ।

बाँकेका स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँचवर्षे कामको अनुभव तथा सुझाव आदानप्रदान गरिरहेको छ । जनप्रतिनिधिको पहिलो कार्यकालमा स्थानीय तहमा उपलब्धिमूलक काम भए पनि उपलब्धि अभिलेखीकरण र पेस्की तथा बेरुजुको समस्या प्रायः सबै स्थानीय तहको समस्या रहेको मन्त्रालयका उपसचिव तुलसीराम अर्यालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया