प्रधानमन्त्री देउवा वाराणसीमा

  चैत २०, २०७८

वाराणसी, चैत २० : भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुग्नुभएको छ ।उहाँलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो । सो विमानस्थलबाट बाहिर निस्किएपछि प्रधानमन्त्री देउवालाई सडकको दायाँ बायाँ रहेका नागरिकहरुले स्वागत गरेका थिए । स्थानीय कला र संस्कृति झल्किने विविध झाँकीहरुबाट पनि उहाँको सम्मान र स्वागत गरिएको थियो । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुहुने छ । त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया