मुग्लिन–नारायणगढ सडकखण्डमा पुल निर्माण सुस्त

  चैत २०, २०७८

चितवन, चैत २० : मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माण हुनुपर्ने १५ वटा पुलमध्ये दुईटा पुलको काम आठ महिना बाँकी हुँदा पनि सुरु भएको छैन ।दुई वर्षअघि यस सडकखण्डमा १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आउँदो मङ्सिर महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि मुग्लिन नजिकको खहरे खोला र तुइन खोलाको पुलको निर्माण कार्य नै सुरु नभएको नारायणगढ–मुग्लिन, नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो ।

खहरे खोलामा निर्माण हुने पुलको नजिकै रहेको बस्ती हटाउन क्षतिपूर्ति रकम अभावका कारण काम गर्न नसकिएको आयोजना प्रमुख कार्की बताउनुहुन्छ । पुल निर्माण गर्ने स्थानमा केही घर टहराहरू छन् । उहाँले भन्नुभयो, उनीहरूलाई त्यहाँबाट हटाउनका लागि क्षतिपूर्ति रकम माग गरेका छौँ, त्यो रकमका लागि एक वर्षअगाडिदेखि पहल गरे पनि बजेट पाउन सकेका छैनौँ ।

यस्तै तुइन खोला र खहरे खोलामा पुल निर्माण गर्ने स्थानमा कडा चट्टान रहेकाले डिजाइनमा समस्या भएको प्रमुख कार्कीले जानकारी दिनुभयो । पहिले गरेको डिजाइनले अहिले त्यसरी निर्माण गर्न सकिने अवस्था छैन, उहाँले भन्नुभयो, अब यहाँको भूगोलअनुसारको पुल डिजाइन गर्नुपर्ने हुन्छ त्यसकारणले पनि ढिलाइ भएको छ ।निर्माणाधीन १३ वटा पुलमध्ये डुम्रे खोला, सेती दोभान, खहरे खोला दुई, भोर्ले र दासढुङ्गाको पाँचवटा पुल आगामी असार महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कार्कीले जानकारी दिनुभयो । सडकखण्डमा निर्माण भइराखेका पुलको काम दुई भाग गरी ठेक्कामा लगाइएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सातवटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठवटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको छ । प्याकेज–१ को प्रगति कम भए पनि प्याकेज–२ तर्फको काम ८० प्रतिशत सकिएको आयोजनाका प्रमुख कार्कीले बताउनुभयो । प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रूपियाँ र प्याकेज–२ का पुल ५९ करोड पाँच लाख ५९ हजार रुपियाँको लागतमा निर्माण सम्झौता भएको छ ।

यहाँ तीनवटा पुल नौ मिटर र अरू ११ मिटर चौडा हुनेछन् । अधिकांश पुराना पुल छ मिटर चौडा थिए । सडक कम्तीमा नौ मिटर फराकिलो भएको दुई वर्ष भइसक्दा पनि पुलहरू भने साँघुरै छन् । पुल साघुँरो हुँदा दुर्घटनाको जोखिम बढेको छ । यो खण्ड पार गर्न गाडीलाई हाल औसत तीस मिनेट लाग्ने गरेको र सबै पुलहरू तयार हुँदा दस मिनेट समय घट्ने आयोजनाको भनाइ छ । यो सडकखण्डअन्तर्गत मौरी, खानी र जलवीरे खोलामा नयाँ पुल बनेर सवारीसाधन चल्न थालेको छ ।

बजेट अभाव
सडक आयोजनाले बजेटको अभावमा काममा ढिला हुन थालेको जनाएको छ । आयोजना प्रमुख कार्कीले चालू आर्थिक वर्षमा १५ वटा पुलका लागि १५ करोड रुपियाँ मात्रै बजेट प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आएको बजेट सबै सकिएको छ । अबको तीन महिना धेरै काम हुने समय हो तर निर्माण कम्पनीलाई पैसा दिन नसक्दा ढिलो हुँदै जाने देख्छु । ”

आयोजनाले चालू आर्थिक वर्षका लागि थप २३ करोड रुपियाँ माग गरेको छ । हामीले थप बजेट माग गरेर पत्र पठाएका छौँ, कार्कीले भन्नुभयो, बजेट आयो भने त निर्माण कम्पनीले पनि धमाधम काम गर्लान् । आएन भने ढिलो हुनसक्छ । बजेट अभाव नभए लक्ष्यअनुसार नै काम पूरा हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया