नेपाल बारको मतदान सम्पन्न, ७१ प्रतिशन मत खस्याे

  चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ ।

नेपाल बार एशोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।

काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । आज बिहान ८ः०० बजेदेखि सुरु भएको अपराह्न ४ः०० सम्मका लागि तोकिएको थियो । सबै मतपत्र आइपुगेपछि मात्र मतगणना प्रारम्भ हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ ।

बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ । संसद्मा प्रतिनिधित्व नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गर्नुभएको छ ।

नेमतिपा कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले गर्नुभएको छ । व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिनुभएको छ । संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजु श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गर्नुभएको छ ।

काठमाडौँ केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार बुथको व्यवस्था गरिएको छ । काठमाडौँ केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बुका मतदाताले मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया