प्रम देउवाद्वारा भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो

  चैत १९, २०७८

काठमाडौं, चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिबार भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।

त्यस्तै, भ्रमणको दोस्रो दिन शनिबार चारवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान गर्ने सम्झौता भएको हो ।

यसैगरी, भारतका प्रधानमन्त्री मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताउनुभएको हो ।

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उहाँले भन्नुभयो, “अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ ।” प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया