शाक्य महाविहार संघमा १८ सदस्यीय नयाँ कार्यसमिति

  चैत १९, २०७८

काठमाडौँ, चैत १९ : शाक्य महाविहार संघको आज यहाँ सम्पन्न दोस्रो महाधिवेशनले शुभकाजी शाक्यको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको उपाध्यक्ष द्वयमा अमीरमान शाक्य र गौतम शाक्य, महासचिवमा संघरत्न शाक्य, सचिवमा राजेश शाक्य, कोषाध्यक्षमा चैतन्यराज शाक्य र सहकोषाध्यक्षमा

दिलीप रत्नशाक्य हुनुहुन्छ । त्यसैगरी, विजय रत्न असंबरे, रोशन बहादुर शाक्य, तीर्थ रत्न शाक्य, आनन्द रत्न शाक्य, चन्द्रलोक शाक्य, सुरेश शाक्य, अनित शाक्य, लेख रत्न शाक्य, दुर्गादेवी शाक्य, अमीर कुमारी शाक्य र मणिकर शाक्य सदस्य चयन हुुनुभएको छ ।

संघले काठमाडौँका सम्पदाहरुको संरक्षण र बहाःबही तथा विहारहरुको पुनःनिर्माण एवं मर्मत सुधारमा पुर्‍ययाउनुभएको उल्लेखनीय योगदानको कदर स्वरुप काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई विशेष सम्मान गरेको थियो । साथै, संघले मञ्जुश्रीनक महाविहार (बिकमाःबहाः) का थकाली मोतीमान शाक्य र शाक्यकेतु महाविहार (मरुबही) का थकाली पुष्पराजन शाक्यलाई ध्रुब–तारा सम्मान सहित जनही रु दश हजार नगद प्रदान गरेको थियो ।

संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा भएको महाधिवेशन तथा छैंटौं साधारण सभालाई सम्बोधन गर्दै मेयर शाक्यले विविध कारण ढिलाइ भए पनि अहिले विकास निर्माणका कार्यले गति लिएको र अधिकाँश त्यस्ता कार्य निर्धारित समयभित्र सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्पदा संरक्षणका लागि विदेशीको सहयोगको जरुरत नभएको बरु आन्तरिक स्रोत नै पर्याप्त रहेको बताउनुभयो ।

सो महाधिवेशनमा संघका महासचिव संघरत्न शाक्यले संस्थाको वार्षिक प्रगति विवरण र कोषाध्यक्ष चैतन्यराज शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।विसं २०७१ सालमा स्थापित यस संघमा शाक्यहरुको मात्रै बसोबास रहेका काठमाडौँका दश महाविहारहरु आबद्ध छन् ।

तपाईको प्रतिक्रिया